• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बन्धकी राखेको जग्गा फिर्ता नदिएको आरोप 

बन्धकी राखेको जग्गा फिर्ता नदिएको आरोप 
न्यूज टुडे
राजविराज, १८ माघ । 
सप्तरीको शम्भुनाथ नगरपालिका ४ का महेश भगतले बन्धकी(धितो) राखेको जग्गा फिर्ता नदिएको पीडितहरुले आरोप लगाएका छन् । पीडितहरुले राजविराजमा बिहिवार पत्रकार सम्मेलनको आयोजना गरि ॠण चुक्ता गर्न तयार हुँदा समेत भगतले जग्गा फिर्ता गर्न नमानेको आरोप लगाएका हुन् । 
घरायसी कामको लागि जग्गा दृष्टिबन्धक राखी लिएको ॠण चुक्ता गर्दा समेत भगत जग्गा फिर्ता गर्न तयार नभएको पीडितहरुको आरोप छ । 
भगतलाई जग्गा फिर्ता गर्न आग्रह गर्दा अनावश्यक रुपमा मुद्दा मामिला गर्दै बैमानी नियत देखाएको उनीहरुले बताए । 
शम्भुनाथ नगरपालिका ३ का महेश प्रसाद चौधरीले भगतको श्रीमति मन्जु कुमारी भगतको नाममा जग्गा बन्धकी राखी लिएको ॠण चुक्ता गर्न सहमत हुँदा समेत भगतले फिर्ता गर्न नमानेको बताए । 
“२०७४ सालमा भगतको नाममा राजमार्गमा जोडिएको १२ धुर जग्गा बन्धकी राखी २२ लाख ॠण लिएँ, जग्गा भगतलाई नामसारी गरि १५ लाखको कपाली कागज समेत बनाईदिएँ,  चौधरीले भने, केही महिनापछि फेरि ५ लाख ऋण लिएर १० लाखको कपाली कागज बनाईदिएँ, भगतले २२ लाखको ब्याज जोडेर २८ लाख पुगेको र पाँच लाख समेत गर्दा ३३ लाख भएको हिसाब सुनायो, उनले थपे,  अहिलेसम्म पटकपटक गरि १२ लाख ४५ हजार चुक्ता गरिसके बाँकी ॠण चुक्ता गरेर जग्गा फिर्ता माग्दा भगतले फिर्ता दिन अस्विकार गरे । ” 
आफुले लिदै नलिएको रकम समेत भगतले हिसाब जोडेर राखेको पत्रकार सम्मेलनमा चौधरीले बताए । पाँचलाखको फर्जी कपाली कागज बनाएर साक्षीमा स्थानीय सबुरलाल सरदारको कृत्य हस्ताक्षर गरि भगतले बैमानी  नियत देखाएको उनले जानकारी दिए । 
शम्भुनाथ नगरपालिका ४ का वडा अध्यक्ष विजय साहको रोहबरमा २५ लाखको कपाली कागज प्रमाणीकरण गरि भगत भागेको उनले आरोप लगाए । 
“आफुले बुझाएको रकमलाई समेत समेटेर प्रमाणीकरण गर्न जोड दिँदा कानुनले नमिल्ने भनेपछि पहिले ॠण लिएको कागजमा सहिछाप गरि अर्को कागज बनाउने सहमति भयो, उनले भने, आफुसोझो भएका कारण कागतमा सहि गरिदिएँ, कागजमा छाप लगाएर आउँछु भनी कार्यालय भित्र गएका भगत उतै बेपत्ता भयो ।”
खराव नियत भएका भगतले वडा अध्यक्ष साहसहित आफु र अन्य समाजका बुद्धिजीवीहरुलाई उल्लु बनाएर भागेको बताए । 
यसैगरी शम्भुनाथ ४ की बल्जित कुमारी चौधरीले २ कट्ठा जग्गा भगतकोमा बन्धकी राखी १ लाख २७ हजार ॠण लिएर ३ लाखको कपाली तमसुक कागज बनाइ दिएको बताइन् । 
“ऋण लिएको चारमहिनामा ३० हजार फिर्ता गरेको र बाँकी स्थानीय लगुवित्तमा जग्गा राखी भगतले ५ लाख ॠण लियो,  उनले भनिन्, त्यसको किस्ता आफुलाई तिर्न लगाए र आफुले १६ हजारको दरले १३ किस्ता पनि बुझाएँ , आफुले लिएको जति ॠण किस्ता सबै बुझाएर जग्गा फिर्ता गर्न भन्दा आफुले जग्गा खरिद गरेको भन्दै मुद्दा मामिलाको झमेला लगाइ दुख दियो। ” 
रुपनी गाउँपालिका ३ का बासुदेव मोची र गेनेलाल मोचीले समेत भगतले  बन्धकी राखेको जग्गा फिर्ता नगरेको आरोप लगाए । 
ॠण चुक्ता गर्दा समेत भगतले आफुहरुको जग्गा फिर्ता नगरी उल्टै मुद्दा चलाएको उनीहरु आरोप छ । 
आफुहरु अन्यायमा परेकोले जग्गा फिर्ताका लागि पहल गरिदिन राजनीतिक दल,संचारकर्मी, नागरिक समाज, स्थानीय प्रशासन तथा सरोकारवालाहरुलाई सोही पत्रकार सम्मेलनमा मार्फत उनीहरुले आग्रह समेत गरे । 
यस बारे भगतसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।