न्यूज टुडे
राजविराज, १८ माघ ।
जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता एवम् पुर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले जनमत पार्टी सरकार बनाउने तथा ढाल्ने खेलमा नलाग्ने बताएका छन् । सप्तरीको राजविराजमा बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनमत पार्टी सरकार बनाउने र ढाल्ने खेलमा नलागी सशक्त प्रतिपक्षीको भुमिकामा रहने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले जसपा नेतृत्वको मधेश सरकार भ्रष्टाचारमा लिप्त रहेको टिप्पणी गरे । जसपा नेतृत्वको सरकारमा एक बर्ष विताउँदा राम्रो काम गर्न प्रयास गर्दा आफुलाई तारो बनाएर दुख दिने गरेको भन्दै उनले बाध्य भएर सरकारबाट बाहिरीनु परेको बताए ।
“जसपाका मन्त्रीदेखि साँसदसम्म भ्रष्ट र दलाल छन् , आफू मन्त्री पदमा हुँदा कमिसन लिएर योजना बेच्न जोड गरेका थिए, उनले भने, आफुले नमानेपछि उनीहरुकै इसारामा धेरै अपमान सहनुपर्यो, भ्रष्टाचारीको साक्षी भएर बस्न नसक्ने भएपछि जनमत पार्टीले सरकार छोड्ने निर्णय लियो । “
जनमत पार्टी मधेशमा विकास र सुशासन कायम गर्न दृढताको साथ काम गरिरहेको जिकिर गर्दै उनले सरकार बनाउने र ढाल्ने खेलमा भन्दा भ्रष्टाचारको पर्दाफास गर्न असल प्रतिपक्षीको भुमिकामा रहने स्पष्ट पारे ।
जसपाले मधेश सरकारलाई निजीकरण र व्यवसायीकरण गर्न खोजेको आरोप लगाउदै पुर्व मन्त्री समेत रहेको नेता यादवले प्रदेशको बजेट नीति तथा कार्यक्रमलाई व्यापारीकरण गर्न खोजिए जनमत पार्टीले सदन र सडक दुबैबाट दवाव सिर्जना गर्ने चेतावनी दिए ।
उनले मधेश प्रदेशका मन्त्रीहरुले कमिसन लिएर योजना बेचिरहेको समेत आरोप लगाए ।
मधेश प्रदेशका मन्त्रीहरुलाई ३ प्रतिशत अग्रिम कमिसन बुझाउनेले मात्र योजना पाउने गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकारले नाङ्गो नाच प्रदर्शन गर्दा समेत चुप रहनुले प्रदेश सरकारको भ्रष्टाचार र अनियमिततामा जसपा अध्यक्ष उपेन्द्र यादवको पनि संलग्नता रहेको तर्क गरे ।
सरकरमा हुँदा उल्लेखनीय कार्य गरेको तथा कृषि विश्वविद्यालय बन्द हुने अबस्थाबाट आफुले जोगाएको जिकिर गर्दै मन्त्री यादवले आफ्नो सहमति विनै कार्यक्रमलाई पार्टीकरण गर्न खोज्दा यस्तो हुन नदिँदा आफुहरुमाथि आक्रमण गरिएको उनले बताए ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य सतिष कुमार सिंहले आफुहरुलाई बदनाम गर्न जसपाले भ्रम सिर्जना गरेको आरोप लगाए ।
सम्बन्धन नै नपाउने इन्जिनियरिङ्ग क्याम्पस र नर्सिङ क्याम्पसको भवन उद्घाटन गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले सप्तरी २ मा निर्वाचित डा. सिके राउतसहित दुबै प्रदेशसभा सदस्यले काम गर्न नसकेको दोष थुपार्न यस्तो भ्रमको खेती गरेको टिप्पणी गरे ।
प्रदेशसभा सदस्य सकिल अलिले जसपा नेतृत्वको प्रदेश सरकारले योजना बाँडफाँडमा भेदभाव गरेको आरोप लगाए । आफुले क्षेत्रबासीको आबश्यकतालाई प्राथमिकता दिएर प्रदेश सरकारमा योजना पेश गर्दा अस्वीकार गरेको जानकारी दिदै उनले जसपा कार्यकर्ताको सिफारिसमा ठाउँ नै तोकेर छिटफुट पुर्वधार निर्माणका योजना परेको बताए ।
नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा जनमत पार्टी सप्तरीका इन्चार्ज रमगमन साह लगायतका उपस्थिति रहेका थिए ।