• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेश कृषी विश्वविद्यालयको तालाबन्दी ११ औं दिन पनि जारी 

मधेश कृषी विश्वविद्यालयको तालाबन्दी ११ औं दिन पनि जारी 
न्यूज टुडे
राजविराज, १७ माघ ।
जनमत पार्टीले मधेश कृषि विश्वविद्यालय राजविराज लगाएको ताला ११ औं  दिनपनि जारी रहेको छ । जनमत पार्टीले विभिन्न ७ सुत्रीय माग राखी गत माघ ७ गते विश्वविद्यालयको कार्यालयमा गरेको तालाबन्दी बुधबारसम्म पनि जारी रहेको हो । 
तालाबन्दीका कारण विश्वविद्यालयको पठनपाठनसहित सम्पुर्ण कामकाज प्रभावित भएको छ । तालाबन्दीले विश्वविद्यालयको अतिआबश्यक काम कारबाही ठप्प हुन पुगेको विश्वविद्यालयले जनाएको छ । 
विश्वविद्यालयका रजिस्टार डा. भगवान ठाकुरले ताला खोल्ने बारे पहल जारी राखेको बताउँदै अहिलेसम्म सरोकारवालाहरुले सुनुवाइ नगरेको गुनासो गरे । 
“कार्यालयमा तालाबन्दी हुँदा उपकुलपति डा. बैधनाथ मेहता जनकपुरमा बस्न बाध्य छन्, उनले भने, आफू जग्गाको कामलाई लिएर काठमाडौमा छु, फोन मार्फत सरोकारवालाहरुसंग ताला खोलिदिन भनी पटकपटक आग्रह गर्दा समेत सुनुवाइ भएन । भिसी सर पनि ताला खोल्न लागिपरेका छन्, तर कसैले सुन्दिदैन, ।” 
उनले लामो समयसम्म तालाबन्दी हुँदा पठनपाठनसहित अति महत्वपूर्ण कामहरु रोकिएको बताए । 
विश्वविद्यालयमा दलिय क्रुरुता बन्द गर्नुपर्ने, गैर बैधानिक कार्यमा रोक लगाउनुपर्ने,विश्व विद्यालयको डि .पि .आर.मा भएको भ्रष्टाचारको छानवीन गर्नुपर्ने, ठेक्कापटामा भइरहेको मिलोमतो बन्द गर्नुपर्ने, परीक्षा बोर्ड विनाको लिएको परिक्षाको छानबिन गर्नुपर्ने, नियुक्तिमा राजनीतिककरण बन्द गर्नुपर्ने, ऎन कानुनलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग उठाउँदै जनमत पार्टीले अनिश्चितकालीन तालाबन्दी गरेका थिए ।  
विश्वविद्यालयका उपकुलपति र रजिस्टारले सुशासन मिचेर जनभावना विपरीत काम गरेको तथा जनताबाट बहिष्कृत नेता वा पात्रको इसारामा अनियमितता र भ्रष्ट कामलाई अगाडि बढाएकोले त्यसलाई सच्याउन पटकपटक ध्यानाकर्षण गर्दा समेत सुनुवाइ नभएको उनीहरुको गुनासो छ। 
विश्वविद्यालयका सहकुलपती तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवलाई समेत जानकारी नदिइ काम गरेको जनमतको आरोप छ ।
जनमत पार्टीले विश्वविद्यालयको भवन शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको प्रति असन्तुष्टि जनाउँदै तत्काल रोक्नुपर्ने माग गरेका थिए ।  
विश्वविद्यालयको भुमी पुजन तथा शिलान्यास कार्यक्रम स्थगित गर्नुपर्ने भन्दै शिलान्यास स्थलमा पुगेका मन्त्री यादव नेतृत्वमा रहेको जनमत नेताकार्यकर्तालाई प्रहरीले रोक्न खोज्दा नमानेपछि प्रहरीले बल प्रयोग गरेका थिए । 
प्रहरीको लाठीचार्जबाट तत्कालीन मन्त्री यादवसित जनमत पार्टीका नेताकार्यकर्ता सामान्य घाइते समेत भएका थिए । 
सोही विषयलाई लिएर जनमत पार्टी मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएका छन् ।