राजकुमार साह
कञ्चनपुर ,१७ माघ ।
तलवभत्ता माग गर्दै आन्दोलनमा उत्रिएका सप्तरीको कञ्चनरुप नगरपालिका शिक्षकहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगर भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरुले नगरपालिकाको मुल गेटमा विहान १० बजेदेखि १२ बजेसम्म तालाबन्दी गरेका हुन् ।
तालाबन्दी कारण नगरपालिकाको सम्पुर्ण कामकाज प्रभावित भएका छन् ।
नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षा शाखा संयोजक नवराज खड्काका कारण समयमा तलब,भत्ता निकासा नभएको आन्दोलनरत शिक्षकहरुले आरोप लगाए । समयमा तलव उपलब्ध नहुँदा बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका अध्यक्ष एवम् प्रधानाध्यापक गजेन्द्र चौधरीले बताए ।
उनले शान्तिपूर्ण संघर्षबाट माग सुनुवाइ नभए अनिश्चितकालीन तालाबन्दीसहितको सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
पहिलो दिन दुइघण्टा मात्र तालाबन्दी गरिएको जानकारी दिदै प्रधानाध्यापक चौधरी भोलि शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरिने बताए ।
मंगलबार आन्दोलनरत शिक्षकहरुले र्यालीसहित विरोध प्रदर्शनको साथै कञ्चनरुप नगरपालिकाको प्राङ्गणमा धर्ना समेत दिएका थिए ।
तीन महिना बितिसक्दा समेत शिक्षक,कर्मचारीले तलब नपाउँदा गत माघ ९ गते नगर प्रमुख ललन प्रसाद गुप्ता ,उपप्रमुख मुनाकुमारी पोखरेललाई तलब निकासा सम्बन्धि ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षकहरुको भनाइ छ ।
शिक्षा शाखाका प्रमुख नवराज खड्कालाई उक्त तलब निकासा बारे सबै जानकारी गराउँदै माघ १५ गते सम्ममा निकासाको व्यबस्था मिलाउन आग्रह गर्दा कुनै पहल नगरेको उनीहरुले गुनासो गरे ।
मंगलबार धर्नामा बसेका शिक्षक,कर्मचारीहरुलाई सम्बोधन गर्दै नगर उपप्रमुख मुनाकुमारी पोखरेलले शिक्षकहरुको तलब निकासा सम्बन्धि प्राप्त ज्ञापनपत्रको बारेमा मेयर गुप्तासंग छलफल गर्दा चासो नदिएको आरोप लगाइन् ।
“नगर प्रमुख माघ १५ देखि २२ गते सम्मको लागि बाहिर गएको छ, उनले भनिन्, नगर प्रमुख गुप्ताले आफुलाई कार्यबाहक जिम्मेवारी नदिएर तोक आदेश बमोजिमको जिम्मेवारी दिएको हुनाले तत्काल केही गर्न सक्ने अवस्था छैन।”
नगर प्रमुखले जब सम्म प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिदैन तब सम्म तलब निकासा नहुने समेत पोखरेलले जानकारी गराईन । “आफू कार्यबाहक नभएर उपप्रमुख नै हो ,शिक्षकको आन्दोलनमा आफ्नोपनि ऎक्यवध्दता र पुर्ण समर्थन छ” उनले भनिन् ।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले शिक्षकहरुलाई तलव खुवाउन आफुले चाहेर पनि नस्क्ने बताउदै शिक्षकहरुको आन्दोलनमा समर्थन रहेको बताए ।