• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कन्चनरुपका शिक्षकहरु आन्दोलित 
न्यूज टुडे
कञ्चनपुर ,१६ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षक,कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । तलवभत्ता माग गर्दै उनीहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । 
तलव माग गर्दै नगरपालिका अगाडि धर्ना बसेका शिक्षकहरु । फोटो : न्यूज टुडे
नगर प्रमुख ललन प्रसाद गुप्ता र शिक्षा शाखा संयोजक नवराज खड्काका कारण समयमा तलब,भत्ता निकासा नभएको उनीहरुले आरोप लगाए । समयमा तलव उपलब्ध नहुँदा बाध्य  भएर आन्दोलनमा उत्रिनु परेको आन्दोलनरत शिक्षकहरु बताउछन् । 
आन्दोलनरत शिक्षकहरुले र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् भने कञ्चनरुप नगरपालिकाको प्राङ्गणमा धर्ना समेत दिएका छन् । 
प्रधानाध्यापक महेश परियारले धर्नाका सहभागीहरुलाई सम्बोधन गर्दै दुई प्रमुखको कारणले समयमा तलब निकासा नभएको आरोप लगाए । 
उनले तीन महिना बितिसक्दा समेत शिक्षक,कर्मचारीले तलब नपाउँदा  गत माघ ९ गते नगर प्रमुख ललन प्रसाद गुप्ता ,उपप्रमुख मुनाकुमारी पोखरेललाई तलब निकासा सम्बन्धि ज्ञापनपत्र बुझाउँदा समेत सुनुवाइ नभएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जानकारी दिए ।
शिक्षा शाखाका प्रमुख नवराज खड्कालाई उक्त तलब निकासा बारे सबै जानकारी गराउँदै माघ १५ गते सम्ममा निकासाको व्यबस्था मिलाउन आग्रह गर्दा कुनै पहल नगरेको प्राध्यापक परियारले गुनासो गरे ।  उनले शाखा प्रमुखलाई धर्नामा आएर आफ्नो बिचार राखिदिनु हुन  पटक- पटक आग्रह गर्दा समेत आउन  नमानेको बताए ।
धर्नामा बसेका शिक्षक,कर्मचारीहरुलाई सम्बोधन गर्दै नगर उपप्रमुख मुनाकुमारी पोखरेलले शिक्षकहरुको तलब निकासा सम्बन्धि प्राप्त ज्ञापनपत्रको बारेमा मेयर गुप्तासंग छलफल गर्दा गम्भीरता नदिएको बताइन् । 
“नगर प्रमुख माघ १५ देखि २२ गते सम्मको लागि बाहिर गएको छ, उनले भनिन्, नगर प्रमुख गुप्ताले  आफुलाई कार्यबाहक जिम्मेवारी नदिएर तोक आदेश बमोजिमको जिम्मेवारी दिएको हुनाले तत्काल केही गर्न सक्ने अवस्था छैन।”
नगर प्रमुखले जब सम्म प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिदैन तब सम्म तलब निकासा नहुने समेत पोखरेलले जानकारी गराईन । “आफू कार्यबाहक नभएर उपप्रमुख नै हो ,शिक्षकको आन्दोलनमा आफ्नोपनि ऎक्यवध्दता र पुर्ण समर्थन छ” उनले भनिन् । 
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले शिक्षकहरुलाई तलव खुवाउन आफुले चाहेर पनि नस्क्ने बताउदै शिक्षकहरुको आन्दोलनमा समर्थन गरे ।
 शिक्षकहरुको दोस्रो चरणको संघर्षका कार्यक्रम अनुसार बुधबार १० बजे बिहान नगरपालिकाको गेटमा ताला बन्दी गर्ने कार्यक्रम रहेको संघर्ष समितिका अध्यक्ष प्रधानाध्यापक गजेन्द्र प्रसाद चौधरीले बताए  ।  “शिक्षकहरूको पारिश्रमिक समयमा निकासा नहुदा पठन-पाठनमा हुने अबरोध प्रती चिन्तित छौ , उनले भने, हामी पढाईमा बाधा हुन दिने छैनौं ,बिदाको दिन आफुहरु छुट्टी नलिई पठनपाठन गर्ने प्रतिबद्धता गर्दछौँ ।”  
  
शिक्षकहरुको आन्दोलनको कारण  नगरपालिका भित्र रहेका ३३ वटा सामुदायिक विद्यालायमा अध्यनरत २ हजार २ सय ९५ बालबालिकासतित  १३ हजार ७ सय ८१ विद्यार्थीहरु पठनपाठनबाट बन्चित हुने  शिक्षा शाखाले जनाएको छ