सप्तरीको अग्नीसाइर कृष्णावरन ४ प्रशवनीमा सोमबार इष्ट देउता गेडसिंह बाबाको पुजा गरेर बाँतर समुदायले माघे संक्रान्ति पर्व धुमधामकोसाथ मानाएका छन् । आफ्ना पुर्खाको रुपमा रहेको कुल देवता गेडसिंह बाबाको विधिपुर्वक पुजा आराधना गरेपछि खसीको बलि प्रदान गरेर बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका हुन् ।
आँगन चोखो पारी पानसुपारी, लडु , अक्षता, खिर, तिलको लडु, भुजाचिउराको लाय, तुलसीको पात,बगिया, गुलि, रक्सी, विडि, सुर्ती, गाँजा,धुप, चामलको पुरी सेतो कपडामा राखी चढाएर पुजा गरि खशीको बलि दिने परम्परा रहेको स्थानीय राम लगन सरदारले बताए ।
बलि दिन तयारी अवस्थामा रहेको खसी । फोटो:न्यूज टुडे
“सरदार (बाँतर) समुदायले प्राचीनकालदेखि मनाउँदै आएको माघे संक्रान्ती हाम्रो राष्ट्रिय पर्व हो, उनले भने, यस पर्वको धार्मिक तथा साँस्कृतिक महत्त्वले पनि यो पर्व बाँतर समुदायको राष्ट्रिय पर्व भएको पुष्टि गर्छ ।”
परापुर्वकालदेखी बाँतर समुदायले माघे संक्रान्ती पर्व मनाएका कारण अरु समुदायको नभएर बाँतर समुदायको राष्ट्रिय चार्ड भएको उनले तर्क गरे ।
बाँतर समुदाय राजनीतिक, शैक्षिक तथा आर्थिक रुपले पछाडि पर्दा साँस्कृतिक पर्वको संरक्षण तथा प्रबर्द्धन हुन नसकेको उनले टिप्पणी गरे ।
आफ्ना पुर्खाको रुपमा रहेको गेडसिंह बाबाको पुजा गर्दै बाँतर समुदायहरु । फोटो: न्यूज टुडे
गेडसिंह बाबाको मन्दिर स्थापना गर्न नसक्दा टोलटोलमा आँगनमा थान स्थापना गरि पुजा गर्दै आएको पुजारी भुलाइ सरदारले बताए ।
गेडसिंह बाबाको मन्दिर निर्माणका लागि राज्यको तर्फबाट सहयोग नपाउँदा सामुहिक रुपमा पुजा गर्न नपाएको अर्का पुजारी ललित सरदारले बताए ।
प्रशवनी टोलमा पुजारी अस्मितलाल सरदारले २४ घर, भुलाई सरदारले २१ घर,सुपिन सरदारले १६ घर, बौकाइ सरदारले १५ घर, जंग बहादुर सरदार ८ र आफुसमेत गरि छुट्टाछुट्टै ८ स्थानमा थान स्थापना गरि पुजा गरिएको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेको कपिल सरदारले बताए ।
प्रशवनी गाउँमा १० वटा भन्दाबढी खशीको बलि प्रदान गरिएको उनले जानकारी दिए ।
उक्त अवसरमा पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादव, पुर्व विधायक असर्फी सदा,अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरी, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का अध्यक्ष तेज नारायण यादव, कार्यपालिका सदस्य श्रीकुमारी चौधरी, जनकी चौधरी, पत्रकार बृजमान तामाङलगायतका स्थानीय जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।