मंसीर तथा पुसमा पनि तीन सातासम्म उति साह्रो नचम्केको जाडो अहिले उग्र भएर आएको छ ।
माघ लाग्ने समयमा जाडो बढेका कारण विशेषतः यसले तराई मधेशका जिल्लामा निकै प्रभाव पारेको छ । विशेषतः बृद्धबृद्धा र बालवालिका यसबाट बढी प्रभावित बनेका छन् । यस बाहेक गरिबीको चपेटामा परेर गतिला लुगा तथा ओढ्ने ओच्छ्याउनेको प्रबन्ध गर्न नसकेकाहरुकालागि पुस माघको जाडो अभिषासरह नै बन्ने गर्दछ । मौसममा एकाएक आएको परिवर्तनले गर्दा अहिले त्यस्ताहरु बढी प्रभावित बनेको अवसथा छ । क्षमतावानकालागि त जस्तोसुकै जाडो हुँदा पनि फरक नपर्ला । तर गरिब गुरुवाहरुकालागि यस्तो समयमा ज्यानै जोगाउन पनि सकस पर्दछ । मानवीय भावनाकासाथ यस्तो विपत्तिमा सहयोगमा जुट्ने समय आएको छ । अति विपन्न तथा विरामीहरुलाई ठण्डीको प्रकोपबाट जोगाउन नसक्ने हो भने उनीहरुको ज्यानै धरापमा पर्न सक्दछ । त्यसैले विपत्तिको यस समयमा मानवीय भावनाका साथ त्यस्ताको सुरक्षामा जुट्न सकियो भने यसले मानवीय भावना प्रदर्शनको मौका पनि मिल्ने हुन्छ । मानवले मानवलाई यस्तै विपत्तिको समयमा नै सहयोग गर्ने हो । अहिले बढेको ठण्डीमा जसलाई जोगाउन सकिनछ उसको अमूल्य जीवनकै रक्षा हुन सक्नेछ ।
तसर्थ आफ्नो मात्र सुरक्षाका बारेमा सोच्ने भन्दा पनि यस्तो विपत्तिमा अरुलाई पनि सानो सहयोग गर्न सकियो भने पीडितकालागि त्यो ठूलो उपकारको विषय बन्न सक्दछ । जाडो बढेको यस समयमा कोही न कोही समस्यामा परे होलान् भन्ने सोचका साथ आआफ्नो स्तरबाट त्यस्ताको सुरक्षामा लाग्न सकियो भने मानवताका दृष्टिकोणबाट यो प्रशंसनीय कार्य हुनेछ ।