नर्मदेव यादव
रुपनी, २२ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने खाडो खोलामा पुल निर्माणको कार्य सुरु भएको छ । रुपनी गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई जोड्ने पक्की पुल निर्माण कार्य सुरु भएको हो ।
पुल नभएका कारण ती दुबै वडाका स्थानीयलाई वारिपारी गर्न समस्या भएकोमा पुलले पुर्णता पाउँनासाथ आवतजावत सहज हुने रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले बताए ।
तेरहौता र बसविट्टी जोड्ने दुई सय मिटर पुल निर्माण सुरु भएपछि खुशी लागेको स्थानीय पृथ्वीराज दासले बताए । पुल संचालनमा आएपछि सदरमुकाम राजविराज जान सहज हुने उनले बताए ।
निर्माण कार्य सकिएपछि पुलकै कारण घुमाउरो बाटो लामो दुरि भएर सदरमुकाम जानुपर्ने बाध्यताबाट मुक्ति पाउने स्थानीय शिक्षक बिरेन्द्र यादवले जानकारी दिए ।
पुल निर्माण कार्यले पुर्णता पाएपछि बर्षोबर्षका समस्या टर्ने स्थानीय रामानन्द ठाकुरले बताए । पुलको पिलरको काम सुरु भएको उनले जानकारी दिए ।
पुल निर्माण कार्यमा विवाद उत्पन्न भएपछि शनिबार अध्यक्ष यादव, जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्य र इलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज पुलकित यादव उक्त स्थानमा पुगेर समस्या समाधान गरेको स्थानीयले बताएका छन् ।
जग्गा सम्बन्धि विवाद रहेकाले सम्बन्धित व्यक्तिलाई आफ्नो प्रमाणसहित गाउँपालिकामा उपस्थित हुन अध्यक्ष यादवले निर्देशन दिएका थिए । पुल निर्माणको कार्य नरोक्न आग्रह गर्दै उनले छलफलद्वारा विवाद निरुपण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्झना कन्ट्र्क्सन काठमाडौले २ सय मिटरको पुल दुईबर्षभित्र काम सम्पन्न गर्ने गरि २४ करोडमा ठेक्का लिएको निर्माण कम्पनीका प्रतिनिधि रबि सिंहले जानकारी दिए ।