न्यूज टुडे
राजविराज, १० पुस ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मधेश आन्दोलनको उपलब्धि संकटमा परेकोले यसको रक्षाका लागि मधेशवादी दलहरुले सरकार छोडेर संघर्षमा जानुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मधेस आन्दोलनको अपमान हुँदा सरकारमा बस्ने औचित्यता सकिएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता महतोले मधेस आन्दोलनका अगुवाहरुलाई जन्मकैद दिएर सरकारले मधेश आन्दोलनलाई अपरधिक घटना घोषणा गरेको टिप्पणी गरे ।
मधेस आन्दोलन अधिकार र पहिचानको आन्दोलन भएको जिकिर गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले आन्दोलनकारीहरुमाथि गरिएको जन्मकैदको फैसला मधेसी सहिद र मधेशी जनतामाथिको अपमान भएकोले त्यो मान्य नहुने बताए ।
काँग्रेसको भुमिगत आन्दोलन, एमालेको झापा विद्रोह, माओवादी जनयुद्धमा समेत धेरै प्रहरी र नेपाली जनताले ज्यान गुमाएको चर्चा गर्दे उनले नश्लिय चिन्तन बोकेका काँग्रेस, एमाले र माओवादीले मधेस आन्दोलनलाई अपराधीक घोषणा गर्न आन्दोलनका अगुवा नेताकार्यकर्तामाथि जालझेल गरेको तर्क गरे ।
मधेश आन्दोलनप्रति संकट आएकोले आफ्नो पार्टी लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्नु पर्ने उनको भनाइ छ ।
“महोत्तरी जिल्ला अदालत जलेश्वरले मधेस आन्दोलनका अगुवा नेता अभिराम शर्मासहितका आन्दोलनकारीलाई जन्मकैद घोषणा गरि दिए, उनले भने, यसले ठूलो प्रश्न खडा भयो, मधेश आन्दोलनप्रति संकट ल्याइदियो, मधेस आन्दोलनलाई अपराध घोषणा गर्यो ।”
महोत्तरी जिल्ला अदालत जलेश्वरको फैसला मधेश आन्दोलनको मर्म विपरीत भएको उनको कथन थियो ।
उनले मधेस आन्दोलनको उपलब्धि रक्षाका लागि आफुलाई मधेसवादी र पहिचानवादी भन्ने पार्टीहरुलाई सरकार छोडेर आन्दोलनमा आउन आग्रह गरे ।
पहिचान र अधिकारको लडाइँ अझै अधुरो, अपुरो रहेको बताउदै महतोले आन्दोलनको उपलब्धिको संरक्षण र थप अधिकार सुनिश्चितताका लागि परिवर्तनकारी र अग्रगामी शक्तिहरु एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
आन्दोलनका सहकर्मीलाई आपतविपत पर्दा र सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्र गर्ने सरकार छोडेर संघर्षमा आउनु आन्दोलनका सहकर्मी दलहरुको नैतिक दायित्व भएको उनको भनाइ थियो ।
आफ्नो पार्टी लोसपा गलत लाईनमा गएर लोसेपार्टी भएको उल्लेख गर्दै उनले सरकार छोडेर पहिचान र अधिकारको आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउदै जिल्ला दौडाहामा रहेका वरिष्ठ नेता महतोले आफूले छुटै पार्टी खोल्ने मनस्थिति बनाइ नसकेको स्पष्ट पारे ।
मधेसमा समस्या पर्दा सद्भावना पार्टीले सरकार नछोड्दा मधेशी जनअधिकार फोरमको उदय भएको स्मरण गर्दै उनले मधेशी जनतामाथि अन्याय हुँदा समेत सरकारमै टासी राख्ने हो भने सरकारमा रहेको चार मधेशी दलको विकल्प खोज्न जनता बाध्य हुने दावी गरे ।
उक्त अवसरमा लोसपा महासचिव गजेन्द्र कुमार मण्डल, केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुनिल झा, केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, शम्भु प्रसाद यादव, विशेश्वर साहलगायतका लोसपा नेताहरुको उपस्थिति रहेको थियो ।