नर्मदेव यादव
रुपनी, ९ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया स्थित गोरियारी टोलमा सार्वजनिक बाटो अतिक्रम गरि निर्माणाधीन अबस्थामा रहेको घरको काम रोक्न भन्दै गाउँपालिकामा निवेदन दर्ता गरिएको छ । रामचन्द्र भगतका छोरा रघु भगतले सार्बजानिक बाटो अतिक्रम गरि घर निर्माण गरेको भन्दै स्थानीय सुशील मुखियाले रुपनी गाउँपालिकामा निवेदन दर्ता गरेको हो ।
घर निर्माण कार्य रोक्न रुपनी गाउँपालिकामा मंसिर २२ गते निवेदन दिएपनि सुनुवाइ नभएको निवेदक मुखियाले गुनासो गरे । उनका अनुसार भगतले बाटो अतिक्रम गरि बनाइरहेका घरको काम अझै रोकिएको छैन ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव आफैले निवेदनमा तोक आदेश गरेर न्यायपालिकामा पठाएको जानकारी दिदै निवेदक मुखियाले निवेदन दिएको हप्तौ वितिसक्दा समेत उक्त विषयमा गाउँपालिकाबाट कुनै किसिमको पहल नभएको बताए ।
निवेदनमा गाउँपालिकाबाट अमिन खटाई नाप जाँच गरि बाटो छुट्याई त्यसपछि मात्र घर निर्माण गर्न माग गरेको बताउँदै उनले गाउँपालिका अध्यक्षले अतिक्रमित बाटोमा निर्माण हुँदै गरेको संरचना रोक्न आलटाल गरेको आरोप लगाए ।
“निवेदन दिएको दुइहप्ताभन्दा बढी भयो, वडा अध्यक्ष अमर मुखियालाई पनि पटकपटक मौखिक रुपमा आग्रह गरे,उनले भने , त्यहाँ अहिलेसम्म नअमिन पठायो, नबाटो छुट्याइयो, निर्माण काम हुदैछ।’’
सार्वजनिक बाटोमा पक्की संरचना बनाउँदा समेत गाउँपालिका र वडा नम्बर ३ मौन बसेको आरोप लगाउदै सर्वसाधारण जनताको कुरा सुन्ने र न्याय दिने कोहि नभएको भन्दै दुखेसो पोखे ।
गाउँपालिका र वडा कार्यालयको मिलोमतोमै भगतले सार्वजनिक सम्पत्ति अतिक्रम गरि घर बनाएको निबेदक मुखियाको भनाइ छ।
उक्त घर निर्माण हुँदा बस्तीमा कुनै किसिमको आगलागीलगायतका आपतकालीन समस्या पर्दा वा कुनै घटना हुन गएमा ठूलो सवारी साधनहरू जान नसक्ने भएकोले बेलैमा गाउँपालिकाको ध्यानाकर्षण गराएको मुखियाले बताए । यसबारे भगतसंग बुझ्दा बाटोसहित टोलनै सबै ऐलानी जग्गामा पर्ने बताउदै आफुले बाटो मिचेर घर निर्माण नगरेको तथा गाउँबासी सबैको सहमतीमा आफुले भोगचलन गरेको ठाउँमा घर निर्माण गरेको दावी गरे ।