• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराजमा सबा दुई वर्ष अघि शिलान्यास भएर पनि निर्माण काम रोकिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम पूरा होस् भन्ने सर्बत्र चासो छ ।
यसै क्रममा सप्तरीमा विभिन्न चरणका आन्दोलन पनि भएका छन् । तत्कालीन उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् सप्तरी २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको विशेष पहलमा राजविराजमा प्रतिष्ठान निर्माणको काम अघि बढेको हो । यसै क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठान भवन निर्माण कार्यको भच्र्युअल माध्यमबाट शिलान्यास गरेर पनि काम रोकिएका कारण अहिले यस प्रति अनेक प्रकारका शंका उपशंका उठ्न थालेका छन् । शिलान्यास भएर पनि काम अघि नबढेका कारण कतै यो योजना यत्तिकै रहने पो हो कि भन्ने नै जिल्लावासीको चासो हो । निर्माण हुने खबरले जति उत्साह ल्याएको थियो,अहिले रोकिएका कारणले आशंका संगै चिन्ता उठ्नुलाई अस्वाभाविक भन्न सकिन्न । पछिल्लो चरणमा तीन दिन अघि जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्व उपप्रधानमन्त्री यादवले पनि आफूले थालनी गरेको उक्त योजनाको काम पूरा गर्नकालागि सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।
सप्तरी युथ नेपाल नामक संस्थाको अगुवाईमा प्रतिष्ठान निर्माणकोलागि आन्दोलन समेत भईसकेको अवस्थामा उनीहरुसितकै भेटमा यादवले यस प्रकारको आश्वासन र प्रतिबद्धता जनाएका कारण फेरि पनि यस सन्दर्भमा केही आशा पलाएको छ । जिल्लाको विकासमा समेत गति ल्याउने यस योजनाको पूर्णताकालागि सबै पक्षबाट आवश्यक पहलको आवश्यकता छ । विकासका सबालमा दलगत हिसाबभन्दा माथि उठेर काम गर्न सकियो भने यसले सकारात्मक परिणाम ल्याउने सम्भावना पनि प्रबल हुनेछ ।