• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजगढमा कामै नगरेको योजनामा लाखौं भुक्तानी 

राजगढमा कामै नगरेको योजनामा लाखौं भुक्तानी 
न्यूज टुडे
राजविराज, ९ पुस ।
सप्तरीमा एक गाउँपालिकाले कामै नगरेको योजनामा लाखौं भुक्तानी दिएको खुलासा भएको छ । जिल्लाको राजगढ गाउँपालिकाले कार्य सम्पन्न प्रतिबेदन पेश नगरिएका विभिन्न पाँच आयोजनाको कार्य सम्पन्न भएको भनि १६ लाखभन्दा बढी भुक्तानी दिएको पाइएको हो ।
पालिकाले कार्यसम्पन्न प्रतिबेदन पेश नगरी १६ लाख ७७ हजार ४ सय ६ रुपैयाँ भुक्तानी दिएको महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
चन्द्रावती पोखरीको देवघरमा ग्रिल निर्माण कार्य योजनामा रु ४८ हजार ६५, राजाजी बोरिङ्ग राजगढ योजनामा रु ४ लाख ८३ हजार २ सय ४५, ट्युबवेल तथा बोरिङ्ग जडान कार्य योजना रु ४ लाख ८३ हजार ४ सय ५२, मुल सडकदेखि बुद्ध नारायण घरसम्म सडक ढलान योजनामा रु ४ लाख ८४ हजार ८ सय ४६ र अधुरो स्वास्थ्य चौकी भवन निर्माण योजनामा १ लाख ७७ हजार ४ सय ६ रुपैया कार्यसम्पन्न स्वीकृति विनै भुक्तानी दिएको भन्दै महालेखाले बेरुजु ठहर गरेको छ ।
“पालिकाले गाउँपालिका पुँजीगततर्फ उल्लेखित आयोजनालाई कार्यसम्पन्न भएको भनी रकम भुक्तानी दिएकोमा सम्बन्धित अधिकारीले स्वीकृत गरेको कार्य सम्पन्न प्रतिबेदन  पेश गरेको छैन, महालेखा परिक्षकको प्रतिबेदनमा भनिएको छ,  तसर्थ कार्यसम्पन्न प्रतिबेदन पेश गर्नुपर्नेछ ।”
कानुन विपरीत विभिन्न योजनाको शिर्षकमा गरिएको भुक्तानी रित नपुगेकोले सम्बन्धितसंग उक्त रकम असुल गर्नुपर्ने महालेखाले औल्याएको छ ।
राजगढ गाउँपालिकामा विभिन्न शिर्षकमा ८ करोड ७६ लाख ३५ हजार ४ सय २१ रुपैयाँ बेरुजु ठहर भएको छ भने असुलीतर्फ चासो लिएको देखिदैन ।