मधेश प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले आफुले सम्हालेको मन्त्रालयलाई शुद्ध, स्वच्छ बनाउने अभियानमा लागेको बताएका छन् । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ मा शनिबार आयोजित आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड महुलीको १८ औं साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथि मन्त्री न्यौपानेसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
बार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री न्यौपाने कृषि मन्त्रालयमा विचौलियाहरुलाई निशेध गरेको बताए ।
“मन्त्रालयबाट बजेट खर्च गर्ने परिपाटीको अन्त्य भइसक्यो, मन्त्रीले बजेट खर्च गर्ने होइन, उनले भने, मन्त्रीले नीति तथा कार्यक्रम ल्याउने हो, कृषी ज्ञान केन्द्र, पशु निर्देशनालय, विज्ञ केन्द्र मार्फत किसानको लागि सतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, त्यहीबाट बजेट तथा कार्यक्रम कार्यान्वयन हुनेछ । “
उनले आफ्ना जिल्लामा रहेको कृषि ज्ञान केन्द्र तथा पशु विज्ञ केन्द्र तथा निर्देशनालयमा सम्पर्क गरि बजेट तथा कार्यक्रममा सहभागीता जनाउन आग्रह गरे ।
“कानुन अभावमा टिप्पणीको आधारमा बजेट खर्च गर्ने अबस्थाबाट मन्त्रालयलाई मुक्त गर्ने प्रमुख लक्ष्य राखेको छु, मन्त्री न्यौपानेले भने, पहिलै जस्तै सोचेर आएका विचौलियाहरुले केमा पैसा छ भनि सोध्छन्, यस्तो अवस्थालाई अन्त्य गर्न कृषि ऎन तयार गरिसकेको र छिटै ल्याउने तयारी गरेको छु ।”
उनले कृषीसंगै सहकारी, भुमी व्यवस्था तथा गुठी ऎन ल्याउन अन्तिम तयारी गरिएको जानकारी समेत दिए ।
गमलामा पानी खन्याएर कार्यक्रम उद्घाटन गर्दै मन्त्री न्यौपाने । फोटो: न्यूज टुडे
ऎन, कानुन बनाउने र दशबर्षे गुरु योजना बनाएर समग्र कृषि क्षेत्रलाई गति दिने उदेश्यको साथ आफू अगाडि बढेको उनको तर्क थियो ।
दुध उत्पादन बढाउने, बजारीकरण गर्ने तथा बढिभन्दा बढी आन्तरिक खपत बढाउनु पर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री न्यौपानेले दूध तथा दुधजन्य पदार्थको आन्तरिक उपयोग बढाउन सहकारीमा आवद्ध सदस्यहरुलाई आग्रह गरे ।
अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी उपाध्यक्ष कल्पना कुमारी चौधरीले सबै समस्याको समाधान आफै भएको बताइन् । कुनैपनि समस्याको समाधान आफैले खोज्ने हो भने कसैको मुख ताक्नु नपर्ने बताउँदै उनले महुलीमा संचालित सहकारीहरु आफै सक्षम भएर आफुले गर्ने प्रशनको जवाफ आफैले दिएर प्रमाणित गरेको बताइन् ।
सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेश दुग्ध बोर्डका निर्देशक शंकर साह, महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष श्यामकान्त चौधरी, साना किसान सहकारी संस्था महुलीका अध्यक्ष दुर्गानन्द चौधरी, संस्थाका संस्थापक अध्यक्ष एवम् संरक्षक भुवन आचार्यलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका जेष्ठ नागरिकलाई सम्मान गरिदै । फोटो: न्यूज टुडे
साधारणसभामा अध्यक्ष दिपेन्द्र आचार्यद्वारा प्रस्तुत अध्यक्षीय, व्यवस्थापक बोधराज सुवेदीद्वारा प्रस्तुत योजना तथा भावी नीति तथा कार्यक्रम, राज कुमार आचार्यद्वारा प्रस्तुत लेखा प्रतिबेदन, आदर्श माविका अध्यक्ष दुर्गा भट्टराईद्वारा प्रसुत विद्यालय प्रतिबेदन, नारायण कुमार काफ्लेद्वारा प्रस्तुत दूध संकलन तथा डेरि संचालन प्रतिबेदन, डिक बहादुर मगरद्वारा प्रस्तुत निबेदन लेखन तथा उपभोक्ता भण्डार प्रतिबेदन र दुर्गादत्त अधिकारीद्वारा प्रस्तुत आव २०७९/०८० को ८५ करोड ५४ हजार ७ सय ४२ रुपैयाँको लेखा परिक्षण प्रतिबेदन सर्वसम्मत पारित गरिएको थियोे ।
संस्थाका व्यवस्थापक बोधराज सुवेदीद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समिति सदस्य डम्बर प्रसाद बस्नेतले गरे ।
कार्यक्रममा अग्नीसाइर कृष्णासवन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरुलगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।