न्यूज टुडे
राजविराज, २ पुस ।
सप्तरीको महादेवा गाउँपालिकामा बर्षौदेखि अतिक्रमित जग्गा सोमवारदेखि खाली गराउन शुरु गरिइएको छ । गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रम गरि बनाइएको संरचनाहरु हटाउन सुरु गरिएको हो ।
गाउँपालिका भित्रको ६ बटै वडामा अतिक्रमित जग्गालाई खाली गराउने गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले बताए ।उनले अतिक्रमण गरिएको बाटो धाटो,सार्वजनिक पोखरीलाई पहिलो प्राथमिकतामा राखेर कामलाई आज सोमवार महादेवा गाउँपालिकाको वडा नम्बर ५ भगवतपुर स्थित वडाका पोखरीबाट सुरु गरेको जानकारी दिए ।
यस पोखरीको चारै तर्फ डिललाई स्थानीयले अतिक्रमण गरी विगत बर्षदेखि विभिन्न संरचना निर्माण गरी उपभोग गरीरहेको स्थानीय युवा विनय विक्रम मण्डलले बताए ।
यस पोखरीको अन्दाजी एक विधा जग्गालाई जे.सी.वी प्रयोग गरेर अतिक्रमण हटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले बताए । यो कार्य अन्य वडाहरुमा समेत क्रमशः निरन्तर जारी राख्ने उनले बताए । अतिक्रमण कार्यमा शान्ति सुरक्षाको लागी स्थानिय प्रहरी चौकीसंग समन्वय समेत गरीएको उनले जानकारी दिए ।
यस पोखरीसगै यस ५ नम्बर वडा अन्तर्गत रहेका सार्वजनिक पोखरीहरु,डगर,बाटो,जण्डोल–कुशहा सडक लगायत अतिक्रमित जग्गाहरुलाई प्राथमिकतामा राखेर कामलाई अगाडी बढाएको वडा ५ नम्बर वडाध्यक्ष हरेराम मण्डलले जानकारी दिए ।