न्यूज टुडे
राजविराज, २ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका दुई विद्यालयलाई झण्डै १ करोड बेरुजु रहेको खुलासा भएको छ । माध्यमिक विद्यालय पातो र हिरा फेकनी माध्यमिक विद्यालय बनौलालाई कामै नगरी भुक्तानी दिएको भन्दै महालेखाले रु ९९ लाख बेरुजु ठहर गरेको हो ।
मावि पातोलाई नमुना विद्यालयका लागि ६३ लाख र मावि बनौलालाई ४ कोठे भवन निर्माण कार्यका लागि ३६ लाख नियम विपरीत भुक्तानी दिएको महालेखा परिक्षकको प्रतिबेदनमा उल्लेख छ ।
ती दुइ विद्यालयहरुलाई कार्यसम्पन्न प्रतिबेदन विनै सार्वजनिक खरिद ऎन तथा नियमावली २०६४ विपरीत भुक्तानी गरेको भन्दै महालेखा प्रतिबेदन २०७९ ले बेरुजु ठहर गरेको हो ।
सार्वजनिक खरिद ऎन तथा नियमावली २०६४ अनुसार निर्माण एवम् मर्मत सम्भार कार्यको स्वीकृत लागत अनुमान, नापी किताव, प्राविधिक मुल्यांकन, कार्य सम्पन्न प्रतिबेदन अनुसार भुक्तानी दिनुपर्ने उल्लेख छ, महालेखा प्रतिबेदनमा भनिएको छ, नगरपालिकाले उल्लेखित विद्यालयको निर्माण कार्यमा प्रविधिक मुल्यांकन, नापी किताब, सम्पन्न प्रतिबेदन पेश नगरी अनियमित रुपले भुक्तानी दिएको छ ।
कमिसनको प्रलोभनमा परि नगरपालिकाले गलत बाटोबाट निकाशा गरि बजेट दुरुपयोग गरेको महालेखाको ठम्याइ रहेको छ । डाक्नेश्वरी नगरपालिकाले विभिन्न शिर्षकमा गरि रु ६ करोड ५५ लाख ७१ हजार ५ सय ६५ बेरुजु राखेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।