न्यूज टुडे
राजविराज, १ पुस ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सेन्सर लाइट जडानको नाममा लाखौं अनियमितता गरिएको खुलासा भएको छ । नगरपालिकाले ४८ लाखभन्दाबढी रकम लाइट जडानको नाममा अनियमितता गरेको महालेखा परिक्षकले ठहर गरेको हो ।
सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ विपरीत रु ४८ लाख २४ हजार ८ सय ७४ रुपैयाँको लाइट खरिदको भुक्तानी गरि नगरपालिकाले अनियमितता गरेको महालेखा परिक्षकको प्रतिबेदन २०७९ मा उल्लेख छ ।
नगरपालिकाले जि. एस निर्माण सेवालाई भुक्तानी गरिएको उक्त रकम नियमसम्वत नदेखिएको तथा सामान खरिद गरेको स्पष्ट आधार नभएको भन्दै बेरुजु ठहर गरेको छ ।
नगरको सम्पुर्ण वडाहरुमा पोल लाइट जडान कार्य गर्नको लागि नगरपालिकाले जि. एस निर्माण सेवासंग रु ४८ लाख २४ हजार ८ सय ७४ को सम्झौता गरि नगरपालिकासंग सेन्सर सहितको १ सय ४८ वटा लाइट जडान भएको भनी उक्त रकम भुक्तानी दिएको देखिन्छ महालेखाको प्रतिबेदन भनिएको छ ।
“सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ मा मालसामानको स्पेशिफिकेसनको आधार लागत अनुमानको आधार लेखा परिक्षण समक्ष पेश हुन सकेन, यस्तै सम्झौता गर्दाका बखत त्रुटि सच्याउने अवधि र सामानको गुणस्तर लगायतका विषय समेटी बनाउने सम्झौताका विशेष शर्तहरु उल्लेख गरेको देखिएन, महालेखाको प्रतिबेदनमा भनिएको छ, त्यस्तै मिति उल्लेख नभएको नापी किताब र कार्यसम्पन्न प्रतिबेदन तयार गरेको भएपनि स्पेशिफिकेसन र लागत अनुमानको आधार प्रष्ट नहुँदा उक्त लाइटहरु उचित मूल्य र गुणस्तरका छन् भनी लेखापरीक्षणबाट आश्वस्त हुन सकिएन, प्रतिबेदनमा अगाडि भनिएको छ, तसर्थ लागत अनुमानको आधार प्रष्ट नभएको जडान भएका लाइटहरुको गुणस्तर तथा वारेन्टी पिरियड खुल्ने स्पेशिफेकेसन लगायतका कागजात संलग्न नभएको र सार्वजनिक खरिद ऎन २०६३ को दफा ५२ बमोजिम शर्तहरु समेत पुर्ण रुपमा समाबेश नभएको जस्ता प्रक्रिया पूरा नगरेकोले खर्च रकम नियमसँगत नहुँदा अनियमितता भएको ठहर छ । “
डाक्नेश्वरी नगरपालिकाले विभिन्न शिर्षकमा गरि रु ६ करोड ५५ लाख ७१ हजार ५ सय ६५ बेरुजु राखेको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ ।