कुन देशको केमा अग्रता छ भन्ने कुराको मापन धेरै आधारमा गर्न सकिन्छ । जस्तै शिक्षा, स्वास्थ्य, खाद्यान्नमा आत्मनिर्भरता, सुरक्षा, सुशासन जस्ता कुराले पनि विकासको अवस्थाका बारेमा मापन गर्न सकिन्छ ।
यसै मेसोमा खेलकूदलाई पनि अलग्याउन मिल्दैन । नेपालले पनि कतिपय खेलमा राम्रो प्रदर्शन गरेको देखिन्छ । तर यसकालागि सरकारले जेजति गर्न आवश्यक छ त्यो गर्न नसकिरहेको भान हुन महशुस हुन थालेको छ । खेलको विकासकालागि नियमित प्रशिक्षण र प्रतियोगिता दुवै आवश्यक रहन्छ । जुनियर टीम तयार गरी नयाँ खेलाडीलाई भित्र्याउने सम्बन्धमा ध्यान दिन सकियो भने नियमित रुपमा राम्रा खेलाडीको उपस्थिति रहन्छ । खेलाडीले गरेको उत्कृष्ट प्रदर्शनले मुलुकको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान सहज हुने भएका कारण यसलाई प्राथमिकतामा नै राखेर सरकारले उपयुक्त नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयनमा जोड दिन आवश्यक छ । बाटोघाटो, पुलपुलेसा, ढल निर्माण जस्ता कामलाई विकासका रुपमा हेर्ने गरिए जस्तै खेलकूदमा पाएको सफलता तथा यस क्षेत्रमा हुने उपलब्धिमूलक लगानीलाई पनि विकासकै रुपमा हेर्ने परिपाटी बसालिनु सान्दर्भिक हो ।
खेलको विकास गर्नाले मुलुकको प्रतिष्ठा नै बढ्छ यदि भने त्यसमा कञ्जुस्याइँ वा बेवास्ता गरिनु कदापि उचित होईन । खेलमा प्रतिष्पर्धा हुन्छ । प्रतिष्पर्धामा जसले विजय हासिल गर्छ उसले देशको झण्डा फहराएर आफ्नो मुलुकको गौरव नै बढाउने भएका कारण यो देशको प्रतिष्ठा बढाउने माध्यम पनि हो । त्यसैले खेलको उपलब्धिलाई पनि विकासकै रुपमा हेरिनु आवश्यक छ ।