न्यूज टुडे
राजविराज, १५ मंसिर ।
रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै सप्तरी युथ नेपालले थालेको आन्दोलनमा जनसमर्थन बढ्दै गएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत अन्तिम दिन शुक्रबार ऎक्यवद्वता जनाउदै जिल्ला प्रशासन कार्यलयको मुलगेटमा जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरु समेत २ घण्टा धर्नामा बसेका हुन् ।
सप्तरी युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको नेतृत्वमा राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, मैथिली साहित्य परिषदका अध्यक्ष अबधेश कुमार झा, राजविराजका नगर प्रबक्ता एवम् वडा नम्बर ८ का वडाअध्यक्ष जय नारायण मण्डल , ७ नम्बरका वडा अध्यक्ष सुभाषचन्द्र यादव, ६ का शशि चौधरी, मविब क्याम्पसका स्ववियु सभापति रन्जित कुमार यादव, सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादव,निर्माण स्थलमा रिले अनसन बसिरहेका राम कुमार दास, सप्तरी युथ नेपालका सदस्य मुस्तकिन आलम ,सुरज यादव, बसन्त यादव, अनिल यादव ,एलिस यादव ,ओमकार कर्ण ,करण शर्मालगायतका सप्तरी युथ आवद्ध युवाहरू धर्ना बसेका छन ।
धर्नामा बसेका युवाहरूले जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरुले आन्दोलनमा ऎक्यवद्वता जनाएकोमा खुशी व्यक्त गर्दै सरकारलाई अबिलम्ब प्रतिष्ठान निर्माण कार्य सुरु गर्न आग्रह गरे । काम सुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताउँदै उनीहरुले शान्तिपूर्ण संघर्षका कार्यक्रमबाट माग सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
पहिलो चरणको कार्यक्रम समापन भएको तथा सरकार अझै गम्भीर नभएकाले थप सशक्त आन्दोलनमा जाने बताउँदै सप्तरी युथका कार्यवाहक अध्यक्ष यादवले छिटै दोश्रो चरणको आन्दोलन घोषणा हुने भएकाले जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक विद्यार्थी, अधिकारककर्मीसहित सबैसंग साथसहयोगको लागि आग्रह गरे ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र विस्तारित परियोजना प्रतिबेदन (डिपिआर) बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।
सोही माग राखी निर्माण स्थलमा स्थानीयबासीले ४६७औं दिनसम्म रिले अनशनको कार्यक्रमलाई जारी राख्दा समेत सरकार भने बेखबर जस्तै छन् ।
उनीहरुले स्वास्थ्य मन्त्री उपस्थित भएर निर्माण कार्य सुचारु गर्ने प्रतिबद्धता नगरेसम्म रिले अनशनलाई निरन्तरता दिने अडान लिएका छन् ।