मूल्य नपाएपछि चितवनका किसानले सडकमै ल्याएर तरकारी फाल्दै विरोध जनाए । झट्ट हेर्दा यस्तो दृष्य कसैलाई सामान्य लाग्ला । तर ठण्डा दिमागले सोच्ने हो भने यो एक गम्भीर समस्या हो । यसलाई सरकार तथा नीति निर्माताले गम्भीरताका साथ लिने समय आएको छ ।
तरकारी मात्र होईन, कतै दूधको मूल्य नपाउँदा सडकमै ल्याएर पोख्दै विरोध जनाएका दृष्य पनि देखिने गरेका छन् । यी सबै विषय किसानसित जोडिएका सवाल हुन् । कृषि उत्पादनमा जोड दिने भन्दै वर्षेनी ठूलो बजेट खर्च भईरहेको छ । तर यसरी गरिएको लगानीका बाबजुद पनि किसानका समस्या उस्तै रहन्छन् भने कार्यशैलीमा सुधारको आवश्यकता छ भनेर बुझ्नुपर्ने हुन्छ । एकातिर किसानले लागत पनि नउठ्ने भाउमा उत्पादन बेच्नु पर्ने बाध्यता अनि अर्कोतिर अरबौंका कृषिजन्य सामान बाहिरबाट आयात नगरी काम नचल्ने अवस्था ।
मुलुकको समृद्धिकालागि यस्तो अवस्था प्रमुख बाधक रहेको भनि यकीन गर्न सकिँदैन र त्यसमा आवश्यक सुधार ल्याउन नसक्ने हो भने समृद्धिका कुरा केवल कोरा कल्पनामा मात्र सिमित नरहलान् भन्न सकिन्न । समृद्धिकालागि कार्यशैली पनि त्यसै अनुरुपको हुनै पर्दछ । किसानले उत्पादन त गर्छन्, तर आफ्नो उत्पादनको मूल्य उनीहरुले आफैं निर्धारण गर्न पाउँदैनन् । अरुले तोकिदिएको मूल्यमा घाटै लगाएर भए पनि उत्पादन बेच्नु पर्ने बाध्यताले उनीहरुलाई छोडेको छैन । यही कारणले बिचौलिया मोटाउँदै गएका छन् भने किनेर खाने उपभोक्ताकालागि त्यही उत्पादन अति महँगो रहने गरेको छ ।
यस्तो स्थितिका कारण किसान तथा उपभोक्ता दुबै मारमा परिरहेका छन् । सरकारले यस समस्याको समाधानकालागि उपयुक्त नीति ल्याएर कार्यान्वयतर्फ ध्यान दिनै पर्दछ ।