राजविराजस्थित एनआइसी एशिया बैंकले नक्कली जग्गाधनीलाई ऋण प्रवाह गरेपछि अहिले खैलावैला मच्चिएको छ । नक्कली कागजपत्रका आधारमा करोडौं रुपियाँ लगानी गरेपछि अहिले उक्त रकम कसरी असुली गर्ने भन्ने समेत प्रश्न खडा भएको छ ।
राजविराजमै यसअघि यस्तै असुरक्षित लगानी गरेका कारण कतिपय सहकारी संस्था डुबिसकेका छन् । यसले धेरै वचतकर्ताको वचत रकम समेत स्वाहा गरेको छ । बैंकहरु स्थापना हुँदा व्यापार व्यवसाय विस्तार हुने र यसबाट समग्र विकासमै टेवा पुग्ने भनी विश्वास गरिन्छ । तर नक्कली कागजपत्रकै आधारमा गरिने असुरक्षित लगानीले बैंक नै धरापमा पर्ने अवस्था आयो भने यसलाई बिडम्बना नै भन्नु पर्दछ ।
लगानी गर्दा वास्तविक जग्गाधनी को हो, जग्गा कस्तो छ, गरिएको लगानी धितोबाट असुल उपर हुन सक्छ कि सक्दैन भन्ने कुराहरुतर्फ पनि विचार पु¥याउनु आवश्यक हुन जान्छ । उसैपनि सही धितो राखेर ऋण लिन सबैकालागि सहज अवस्था छैन । व्यवसाय गर्नकालागि ऋण दिने भनेर नीति त बनाईन्छ तर प्रक्रिया पूरा गरेर पनि समयमा ऋण नपाउने, अनावश्यक दौडधूप र बैंक कर्मचारीको खुशामद गर्नुपर्ने बाध्यता रहेको कुरा ऋण लिन आएका कतिपयको गुनासो छ ।
बैंकले गरेको लगानीबाट उसले पनि मुनाफा कमाउने तथा ऋणीले पनि आफ्नो कारोबारबाट आर्जन गर्नाका साथै बैंकको किस्ता नियमित रुपमा तिर्न सक्दा मात्र दुबैको अवस्था सुरक्षित हुने हो । लगानी गर्दा धितोको अवस्था तथा सही प्रयोजनमा लगाए नलगाएका सम्बन्धमा जानकारी लिने काम सम्बन्धित बैंकको नै हो ।
हचुवा तालमा गरिने लगानीले त बैंक नै डुब्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन । कमसल वा नक्कली धितोका कारण बैंक धरापमा पर्ने अवस्था नआओस् भन्नकालागि सुरक्षित लगानीको सनिश्चितता गरेर मात्र ऋण प्रवाह गर्ने तर्फ ध्यान दिनुपर्ने हुन्छ ।