• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

विचार

स्वतन्त्र प्रेसमाथि न.पा.को खटनपटन

स्वतन्त्र प्रेसमाथि न.पा.को खटनपटन

विद्यालयको समाचार संकलनकालागि पुगेका एक पत्रकारलाई राजविराजस्थित एक विद्यालयले प्रवेशमा रोक लगायो । पहिला ती पत्रकार नगरपालिकामा तत्सम्बन्धि निवेदन दिन पुगे । नगरपालिकाका शाखा अधिकृतले (…कुनै किसिमको भिडियो नतान्ने तथा समाचार सम्प्रेषण गर्दा शिक्षा तथा यूवा खेलकूद शाखासँग समन्वय गरी सुधारात्मक आशयको अनुमति दिएपछि अहिले यो कुरा तरंगित बनेको छ ।

राजविराजमा उसैपनि शैक्षिकस्तर खस्कँदो छ । यसमा सुधारकालागि मिडिया क्षेत्रको भूमिका अविच्छिन्न रहेको विदितै छ । विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी लिन पुगेका पत्रकारलाई नगरपालिकाको स्वीकृति लिनुपर्ने भन्दै पन्छाउनु, नगरपालिकाले स्वतन्त्र प्रेसमाथि बूँदा तोकेरै समाचार लेख्न आदेशात्मक स्वीकृति दिनु जनताको सुसूचित हुने अधिकारमाथिको ठाडो हस्तक्षेप हो । शैक्षिक क्षेत्रमा सुधारको विषयलाई प्रमुखताकासाथ प्रतिबद्धता पत्रमा उल्लेख गरी निर्वाचनमा भाग लिई जितेर आएका नगरपालिकाका जनप्रतिनिधि उल्टै विद्यालयका कमजोरी ढाकछोप गर्न उद्धत हुन्छन् भने शैक्षिक अन्नयन कसरी सम्भव होला ?

नगरपालिकाको अवस्था उसैपनि अहिले लथालिंग बन्दै गएको भनी राजविराजवासीले व्यापक गुनासो गर्न थालेका छन् । विकास निर्माण, सरसफाई, ट्राफिक व्यवस्थापन, हटियाको दुर्गतिपूर्ण अवस्थामा सुधार, सार्वजनिक स्थल अतिक्रमणमाथि नियन्त्रण, छाडा चौपायाको समस्या समाधान लगायतका अनेकौं काम राजविराज नगरपालिकाले गर्न सकेको छैन । अख्तियारमा उजुरी परेर मेयर हाल निलम्बित अवस्थामा रहेपछि नगरपालिकाको नेतृत्व उप–मेयरमाथि पुगेको छ । तर जनचासो र आवश्यकताका काममा सक्रयता दर्शाउनु भन्दा पनि सूचनामाथि अंकुश लगाउने कामप्रति नगरपालिका निशेष सक्रिय हुन थालेको वास्तविकता उदांगिएको छ ।

तजबिजीका आधारमा कर्मचारी भर्ना गरेको विषय चर्चामा आईसकेकै छ । अब शिक्षा क्षेत्रका कमजोरी र विकृति ढाकछोपका लागि विद्यालयको समाचार लिनबाट रोक लगाएर नगरपालिकाले ‘कहीं नभाको जात्रा हाँडी गाउँमा’ भन्ने उखान चरितार्थ गर्न थालेको छ । नगरपालिका साँच्चै नगरको विकासप्रति इमान्दरा छ भने उसले प्रेस जगतको पनि साथ र सहयोग लिएर काम गर्न सक्नु बाञ्छनीय हुनेछ ।

आफ्ना कमजोरी ढाकछोपकालागि पूर्व स्वीकृति लिएर मात्र समाचार लिन ज्ञान पत्रकारलाई ‘निचा पार्न खोज्ने नियत’ कुनै पनि दृष्टिकोणबाट ‘प्रेसमैत्री’ मान्न सकिन्न । यस्तो व्यवहारले त सुशासन र पारदर्शिताकै खिल्लि उडाउने निश्चित छ । पत्रकारले विद्यालयको समाचार कसरी संकलन गर्ने, के के लेख्ने, कसरी लेख्ने, के नलेख्ने भन्ने कुरा नगरपालिकाले सिकाईराख्नु आवश्यक छैन ।

स्वयम्ले बनाएको आचारसंहिता पालना गरी स्वनियमनका साथ पत्रकारिता आफ्नो कर्मक्षेत्रमा निरन्तर रहने नै छ । पत्रकारलाई अंकुश होइन सूचना उपलब्धताकालागि सहज व्यवहारका साथ नगरपालिकाको आफ्नो कार्यशैलीमा सुधारको आवश्यकता छ ।