• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
खेल मैदानको वेहाल

राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मैदानमा अहिले मिथिला कप क्रिकेट प्रतियोगिता सञ्चालन भईरहेको छ । यस्तै खालको प्रतियोगिता कहिले पनि माविको मैदानमा पनि आयोजना गरिन्छ । राजविराजमा सबैभन्दा ठूलो खेलमैदानका रुपमा रहेको राज रंगशालाको अवस्था दिनदिनै खस्केका कारण यस्ता प्रतियोगिता पनि विद्यालय र क्याम्पसका मैदानतिर सार्नुपर्ने अवस्था आएको छ ।

खेलकूदको क्षेत्रमा सुधार ल्याउनकालागि स्तरीय खेलमैदान पनि हुन आवश्यक छ । राजरंगशालाको वेहाल अवस्थाका बारेमा पटक–पटक समाचार पनि प्रकाशित हुने गर्दछन् । तर पनि यसले अहिलेसम्म साकार रुप ग्रहण गर्न सकिरहेको छैन । खेलकूदको क्षेत्रमा हुने प्रगतिलाई पनि विकासकै एक कडीका रुपमा स्वीकार नगरिनाले यो क्षेत्र ओह्रालो लाग्दै गएको मानियो भने अन्यथा नहोला ।

पञ्चायतकालमा पनि ठूला–ठूला प्रतियोगिताको आयोजना हुने गरेको राजरंगशाला पञ्चायति व्यवस्थाको अवशानपछि पनि काँचुली फेर्न सकिरहेको छैन । कतिपय राजनीतिक दलका ठूला ठूला आमसभा समेत यही मैदानमा आयोजना गरिएका छन् । तिनै दलका नेताहरु उच्च ओहोदामा पुग्दा समेत रंगशालाको अवस्था चाहीं दिनानुदिन खस्कँदो छ । खेलकूदमा सुधारका लागि पहिला खेलमैदान दुरुस्त हुनुपर्दछ । यसको यत्रो पूर्वाधारको संरक्षण गर्नेतर्फ स्थानीय प्रदेश तथा केन्द्र सरकारले समेत चासो लिन जरुरी छ । खेलमैदानको स्तरोन्नतिका लागि यदाकदा ससाना काम गरिएको पनि हो । तर पनि अवस्था उस्तै रहेका कारण कार्यकर्तालाई ठेक्कापट्टा दिएर कमाउने वहानाका रुपमा नलिई यसको वास्तविक सुरधारको धेयका साथ काम गर्नुपर्ने आवश्यक छ ।