• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौपायाको रजाइँ

देशमै पहिलो पटक शहरी योजनाका आधारमा बसाईएको नगर हो राजविराज । जिल्लाको सदरमुकाम समेत रहेका कारण यस नगरपालिकालाई अझै व्यवस्थित गरेर विकास पथमा लैजानुपर्ने यहाँका वासिन्दाको आकांक्षा छ ।

जनप्रतिनिधिले पनि जनताको भावनासित एकाकार हुँदै नगरमा व्याप्त समस्या समाधानकालागि काम गर्न सके भने मात्र जनताले पनि जनप्रतिनिधिप्रतिको भरोसाले सार्थक रुप ग्रहण गरेको रुपमा बुझ्ने मौका पाउने छन् । तर जब गरेको प्रतिबद्धतालाई पूरा गर्ने प्रति जनप्रतिनिधि उदासीन बन्छन् तब उनीहरुप्रति जनअसन्तुष्टि बढ्नेमा आशंका रहँदैन ।

राजविराज नगरपालिकामा अहिले पनि अनगिन्ति समस्या यथावतै छन् । ती मध्ये एक हो यहाँ हुने गरेको छाडाचौपायाको रजाइँ । यो समस्या समाधान गर्ने भनेर निर्वाचनताका सबैजसो जनप्रतिनिधिले प्रतिबद्धता जनाएकै हुन् । तर अहिले पनि यो समस्या समाधान त परै जाओस् उल्टै बढ्दो छ । नगरको मुटु मानिने गजेन्द्र चौकमा साँझ पर्नासाथ देखिने छाडा चौपायाको विगविगीले कुनै पनि समयमा गम्भीर दुर्घटना हुने जोखिम बढेको छ ।

नगरपालिकाले यस्तो समस्या समाधान गर्नुपर्ने उसको जिम्मेवारी पनि हो । तर आफूले प्रतिवद्धता गरेर पनि यो समस्या समाधानप्रति चासो नलिनु भनेको जिम्मेवारीप्रति वेवास्ता गरेसरह नै हो । सम्भावित जोखिमलाई ध्यानमा राखेर छाडा चौपाया नियन्त्रणप्रति नगरपालिकाले चासो लिन जरुरी छ ।