• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

गजेन्द्र नारायण सिंह अस्पतालमा पिसिआर मेसिन बन्द, संकलित स्वाब परीक्षणमा कठिनाई

गजेन्द्र नारायण सिंह अस्पतालमा पिसिआर मेसिन बन्द, संकलित स्वाब परीक्षणमा कठिनाई

न्यूज टुडे
राजविराज, ०९ मंसिर ।
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा संचालित पिसिआर मेसिन बन्द हुँदा सर्वसाधारणहरुलाई समस्या भएको छ । जिल्लाको एक मात्र पिसिआर सेवा बन्द हुँदा संकलित स्वाब परीक्षणमा कठिनाई भएको हो ।

अस्पतालले करार कर्मचारी नियुक्त गरि पिसिआर सेवा संचालनमा ल्याएका थिए । उनीहरुको गत कार्तिक २८ गते करार अवधि समाप्त भएपछि जनशक्तिको अभाव देखाउदै अस्पतालले पिसिआर मेसिन बन्द गरेका छन् । जिल्लामा स्वाब परीक्षण गर्ने अर्को ब्यवस्था नहुँदा धरान र विराटनगर पठाउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए । करारमा नियुक्त गरिएको कर्मचारीहरुको गत कार्तिक २८ गते नै अवधि समाप्त भयो डा. झाले भने, उनीहरुको विभागले म्याद नथप्दा जनशक्ति अभावले मेसिन नै बन्द गर्ने स्थित आयो । करारमा नियुक्त कर्मचारीहरुलाई सेवाअवधि थपका लागि सम्बन्धित निकायमा पत्राचार गर्दा समेत सुनुवाई नगरेको उनले वताए ।

अस्पतालमा संचालित मेसिन संचालनमा नआएपनि पिसिआर सेवालाई निरन्तरता दिएको बताए । संकलित स्वाब परीक्षणका लागि धरान, विराटनगर पठाउने गरेको डा. झाले जानकारी दिए । यता अस्पतालको उदासिनताका कारण पिसिआर मेसिन बन्द भएको सेवाग्राहीहरुको आरोप छ । कर्मचारीको सेवा अबधि थप गर्न अस्पतालका मेसु डा. झाले समयमा तदारुकता नदेखाउँदा स्वाब परीक्षणबाट बञ्चित हुनु परेको एक सेवाग्राहीले बताए ।

पिसिआर सेवाका लागि अस्पतालले ६ जना कर्मचारी नियुक्त गरेका थिए । आस्पतालमा कार्यरत राजेश साह, सुरेन्द्र कुमार यादव, मो. आजज आलम, कृष्णा कुमार मण्डल, डम्बर कुमार मण्डल र कमल किशोर मण्डलको करार अवधि सेवा २८ कार्तिकसम्म रहेका थिए ।

मेडिकल सुपरिटेन्डेन्ट डा. झाले छिट्टै जनशक्तिको व्यवस्था गरि पिसिआर मेसिन संचालनमा ल्याउने बताए । बजेटको अभावले कर्मचारी नियुक्त गर्न नसकिएको उनले जानकारी दिए ।