नेपाली काँग्रेस राजविराज नगर समितिको पदाधिकारी छनौटकालागि भएको निर्वाचनमा पराजित सभापतिका उम्मेदवारको १५ मत बदर भयो । विजयी उम्मेदवारले पाँच मतको अन्तरमा पराजितलाई पछि पारे । यसले मतदाता शिक्षामा कमी रहेको भन्ने नै बुझ्नु पर्ने अवस्था आएको छ ।
पार्टीको निर्वाचनमा त यसरी मत बदर हुन्छ भने स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा यसको अनुपात अझै बढ्ने अनुमान लगाउन गाह्रो नपर्ला । सचेत मतदाताले ठीक तरिकाबाट गरेको मतदानले नै जनचाहना अनुसारका प्रतिनिधिको छनौट हुने हो । बढी संख्यामा मत बदर हुन थाल्यो भने यसले कम मत ल्याउने विजयी हुने अनि बढि ल्याउनेले पराजयको सामना गर्नुपर्ने अवस्था आउन सक्दछ ।
लोकतन्त्रमा जसरी आवधिक निर्वाचनको आवश्यकता रहन्छ, सोही अनुसार मतदातामा ठीक तरिकाले मतदान गर्ने सीप पनि रहन जरुरी हुन्छ । बढी मत बदर हुँदा सही व्यक्तिको छनौट पनि प्रभावित हुन सक्छ भन्ने कुरालाई पनि चासोका साथ लिएर मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी छ ।
निर्वाचनका क्रममा मतदानको केही दिन अघि मतादाता शिक्षा कार्यक्रम सञ्चालन गरिने परम्परा त छ । तर कतिपय ठाउँमा मतदाता शिक्षाको टोली नै नपुगेको, पुगेको भए पनि थोरै समय मात्र बसेर फर्किने गरेका जस्ता गुनासाहरु विगतमा पनि उठेकै हुन् । सरकारले लगानी गरेर मतदाता शिक्षा दिने व्यवस्था मिलाईसकेपछि त्यसमा कमजोरी नरहोस् भन्नेमा पनि ध्यान दिन जरुरी छ ।
मतदाता शिक्षाको व्यवस्था गरिसकेपछि सही तरिकाबाट मतदान गर्ने बारेमा जनताले जानकारी पाउनै पर्ने हुन्छ । झारा टार्ने तरिकाबाट मात्र गरिने कामले सही परिणाम ल्याउँदैन भन्नेमा मनन गर्न जरुरी छ ।