• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

महादेवा गाउँपालिकामा २१ लाखको औषधि खरिद नियमबिपरीत

महादेवा गाउँपालिकामा २१ लाखको औषधि खरिद नियमबिपरीत

न्यूज टुडे
राजबिराज, १० कार्तिक ।
सप्तरीको महादेवा गाउँपालिकामा २१लाख भन्दा बढीको औषधि नियमबिपरीत खरिद गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद नियमावली २०७४ बिपरीत लाखौंको औषधि खरिद गरेको खुलासा भएको हो ।

पालिकाले २१ लाख भन्दा बढीको औषधि नियम मिचेर खरिद गरेको महालेखा परीक्षकको प्रतिबेदन २०७८मा उल्लेख गरिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १(क) बमोजिम बीस लाख रुपैयासम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सुचना प्रकाशन गरि तोकिएको बिक्री मुल्यमा सोझै खरिद गर्न सकिने ब्यबस्था छ । तर पालिकाले नियमावली बिपरीत प्रक्रिया बेगर २१ लाख ८० हजार २ सय ८३ को औषधि खरिद गरेको प्रतिबेदनमा उल्लेख छ ।

गाउँपालिकाले खरिद गरेको उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत गरिएको छैन । आपूर्ति भएको औषधि ड्ब्लुएचओ सटिफाईड हुनुपर्ने तथा औषधिको उत्पादन मिति ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरि सम्बन्धित बिषयका बिज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि होईन भनी खुलाएको प्रमाणपत्र समाबेश नगरेको उल्लेख गरिएको छ ।

प्रतिबेदनमा आपूर्ति भएको औषधि एवम् सर्जिकल सामान स्टोर दाखिला हुनुअघि स्पेशिफिकेशन भए÷नभएको नखुलाएका कारण औषधि गुणस्तर र म्याद सम्बन्धमा यकिन नभएकोले औषधि खरिदमा कमिशनको चलखेलले प्रक्रिया मिचेर खरिद गरेको आशंका गरिएको छ ।

औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अधाबधिक हुने गरि अभिलेख राख्न, प्रतिबेदनमा भनिएको छ, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको यकिन गरि हस्तान्तरण तथा खरिद गरिएको औषधि विवरण खुल्ले गरि अभिलेख राख्नु पर्दछ प्रतिबेदनमा भनिएको छ, आर्थिक बर्षको अन्त्यमा बाँकी रहेको औषधिहरु जिम्मेवारी जिन्सी अभिलेख ब्यबस्थित गर्नेतर्फ ध्यान दिनुपर्छ ।

महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम लखन यादवले औषधि खरिद केही त्रुटि भएको स्वीकार गरे । उनले औषधि भने समयमै खरिद गरि बितरण गरेको दाबी गरे ।