• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजदेवी माध्यमिक विद्यालयको चौरमा बालुवा भण्डारले बिद्यार्थीलाई सास्ती

राजदेवी माध्यमिक विद्यालयको चौरमा बालुवा भण्डारले बिद्यार्थीलाई सास्ती

न्यूज टुडे
राजबिराज, ०९ कार्तिक ।
सप्तरीको राजबिराज नगरपालिका १ स्थित राजदेबी ठाकोदेबी जोगेन्द्र भगत माध्यमिक विद्यालयको चौरमा बालुवा भण्डारले बिद्यार्थीहरुलाई सास्ती भएका छन् । दिवा कन्स्ट्रकशनले विद्यालयको चौरमा बालुवा भण्डारण गर्न थालेपछि बिद्यार्थीहरुलाई खेलकुदमा समस्या भएको हो ।

कन्स्ट्रक्शनले बलुवा भण्डार गर्न थालेपछि खेलमैदान परिपरी खाल्डाखुल्डी भई पानी जमेर पढाईका अतिरिक्त खेलकुदको कुनैपनि क्रियाकलाप संचालन गर्न नपाएको स्थानीयले बताएका छन् । चौरलाई अतिक्रमण गरि बालुवा गिट्टी भण्डार गर्दा ढुवानीमा प्रयोग हुने सवारी साधनले चौरमा क्षति गर्दा बिद्यार्थीहरुलाई आवतजावतमा समस्या हुने गरेको स्थानीय भन्नालाल यादवले बताए ।

बलुवा राख्न दिने कार्य सहमतिमै भएको हो, विद्यालय ब्यबस्थापन समितिका निबर्तमान सदस्य समेत रहेका यादवले भने, लिखित सम्झौता नभएपनि बार्षिक १ लाख विद्यालयलाई सहयोग गर्ने सर्तमा बालुवा गिट्टी भण्डार गर्न दिएको हो । विद्यालयका पूर्व प्रधानाध्यापक दिलिप कुमार यादवले मौखिक सहमतिमा बालुवा गिट्टी राख्न दिएको उनले जानकारी दिए ।

२१ महिना पहिलेदेखि विद्यालयको चौरमा बालुवा गिट्टी भण्डार गरेतापनि सो बापतको भाडा भने विद्यालयले पचास हजार मात्र प्राप्त गरेका छन् । विद्यालयका पूर्व प्रधानाध्यापक यादबले दिवा कन्स्ट्रक्शनसँग पैसा लिई अपचलन गरेको स्थानीयबासीले आरोप लगाएका छन् । स्थानीयका अनुसार प्रधानाध्यापक यादवले कन्स्ट्रक्शनका ठेकेदारसँग पैसा लिएर खातामा जम्मा गरेका छैन ।

विद्यालयमा सरुवा भएर आएका प्रधानाध्यापक दिनेश प्रसाद यादवले बालुवा भण्डार गर्ने सम्झौताको कुनै लिखित प्रमाण नभएको बताए । विद्यालय परिसरमा राखिएको बालुवा कार्तिकभित्र हटाउन दिवा कन्स्ट्रक्शनलाइ आदेश दिईसकेको उनले जानकारी दिए ।

बलुवा भण्डार कसरी भएको भन्ने खोजतलास गर्दै जाँदा कन्स्ट्रक्शनका एक कर्मचारीले विद्यालयको खातामा हालसालै ५० हजार जम्मा गरेको उनले बताए । बालुवा भण्डारले बिद्यार्थीलाई आवतजावत तथा खेलकुदका क्रियाकलापमा समस्या हुनुको साथै चौरमा क्षति पुगेकाले चाँडै खाली गर्न लगाउने उनले बताए ।

पूर्व प्रधानाध्यापक दिलिप यादवले आपसी सहमतिका आधारमा बालुवा भण्डार गर्न दिएको बताए । उनले दिवा कन्स्ट्रक्शनले बालुवा राखेबापत विद्यालयलाई आर्थिक सहयोग गरेको बताए । उनले बिधालयलाई कति सहयोग गरेको छ भन्ने बारे खुलाउन चाहेन ।