• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनावरबाट सुरक्षाको सबाल

वर्षायामपछि अब जाडो लाग्नै आँटेको छ । धानबाली भित्र्याएपछि गहुँबाली लगाईने छ । जाडो यामकै बेलामा सप्तरीमा जंगली जनावरको उपद्रो बढी हुने गरेको छ ।

विगतका समयमा पनि जाडोमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका हात्तीले बस्तीमा पसेर उधुम मचाउने गरेकै हुन् । घर भत्काउने, सरसामान नोक्सान गर्ने, बालीनालीमा क्षति पु¥याउनाका साथै मानिसमाथि समेत आक्रमण गरी घाईते बनाउने तथा ज्यानै सम्म लिने गरेका विगतका घटनाहरु छन् ।

आरक्षका हिंस्रक जनावरबाट सुरक्षाको माग जनताले गर्दै आएका भए पनि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकिएका कारण यसपालिको जाडो याममा पनि विशेष साबधानी अपनाउन जरुरी भएको छ । जनताले धनजनको सुरक्षाकालागि स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरकारको ध्यानाकर्षण गराए पनि सुरक्षाका बारेमा कुनै व्यवस्था नगरिएका कारण विशेष गरी टप्पु आसपासका वस्तीमा हिंस्रक जनावरको आक्रमणको जोखिम उस्तै छ ।

सरकारले दुर्लभ वन्यजन्तुको संरक्षणकालागि आरक्षको स्थापना गरेको छ । यसलाई सकारात्मक काम नै भन्न सकिन्छ । तर यसका साथसाथै आसपासका वस्तीमा जनतालाई पर्ने पीडाका सबालमा सरकारले नसोचिदिँदा जनताको निद्रा हराउन छाडेको छैन । समस्या यही नै हो । आरक्षका जनावरको सुरक्षा महशुस गरिए पनि जनताको सुरक्षाका सबालमा चाहिँ मौनता साध्नु उचित हुन सक्दैन ।

कोशी टप्पु आरक्षका जनावरका कारण सप्तरी, सुनसरी र उदयपुर जिल्लाका वासिन्दा बढी पीडित रहँदै आएका छन् । यो समस्याका बारेमा सदनदेखि सडकसम्म पटक पटक आवाज नउठेको पनि होईन । अतः यस समस्याको शिघ्र समाधान निकालेर समस्यामा परेका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन जरुरी छ ।