• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अधिकार प्राप्तिका लागि बहिष्करणमा परेका समुदायहरु गोलबद्व हुन आबश्यक ः उपेन्द्र

अधिकार प्राप्तिका लागि बहिष्करणमा परेका समुदायहरु गोलबद्व हुन आबश्यक ः उपेन्द्र

न्यूज टुडे
राजबिराज, ०४ कार्तिक ।
पूर्व उप–प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिका लागि उत्पीडन र बहिष्करणमा परेको जातिसमुदाय गोलबद्व हुन आबश्यकता रहेको बताएका छन् । सप्तरीको कठौनामा बुधबार जनता समाजवादी पार्टी शम्भुनाथ नगर समितिद्वारा आयोजित बृहत पार्टी प्रबेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले थारु, आदिबासी जनजाति, मधेशी, मुश्लिम, दलितलगायतका उत्पीडित समुदायको हक, अधिकार सुनिश्चितताको लागि थप संघर्ष गर्नुपर्नेमा जोड दिए । जनता समाजवादी पार्टी सबैखाले बिभेद र भेदभाव परेका बर्ग, लिङ्ग र समुदायको अधिकार सुनिश्चितताका लागि संघर्षरत छ, अध्यक्ष यादवले भने, अधिकार प्राप्तिको लागि उत्पीडन र बहिष्करणमा पारिएको समुदाय गोलबद्ध भई संघर्ष गर्नु आबश्यक छ । अध्यक्ष यादवले मधेशलगायतका बिभिन्न पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धि खतरा परेको बताए । यादवले मधेशी, थारु, दलित, आदिवासी जनजातिलगायतका कठोर आन्दोलन र बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्दै थप हक अधिकारका लागि अझै संघर्ष जरुरी रहेको बताए ।

पार्टीमा प्रवेश गरेका नेताकार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पार्टीमा यथोचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे । सामाजिक न्याय र समनताको अभियानमा हातेमालो गर्न पार्टीमा आबद्ध भएकोमा नवप्रबेशी नेताकार्यकर्ता धन्यवाद व्यक्त गर्दै पूर्व उप–प्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राज्यको शासन र प्रशासनमा सम्मान अबसर र अधिकारका लागि जसपामा आबद्ध हुन आग्रह गरे । अध्यक्ष यादवले संबिधान संशोधन गरेर सबैको बनाउन तयार नभए अर्को बिद्रोह गर्ने चेतावनी दिए ।

थारु समुदायमाथि सबभन्दा बढी राज्यले अन्याय गरेको चर्चा गर्दै अध्यक्ष यादवले राज्यको शासन प्रशासनमा सम्मानजनक सहभागीता नहुँदा थारु समुदाय पछाडि परेको बताए । सोझोपनको फाईदा उठाउँदै थारु समुदायलाई पटक–पटक राज्यबाट दमन हुँदा अस्तित्वमा संकट परेको उल्लेख गर्दै अध्यक्ष यादवले थारु समुदायको मुक्तिका लागि जसपा सधै अग्रर हुने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरीको पूर्वाधार बिकासको कार्यमा प्राथमिकता दिने बताईन् । यादवले कठौना– पातो सडकलाई कालोपत्रे गर्न आबश्यक बजेट उपलब्ध गर्ने प्रतिबद्धता व्यक्त गरिन् । जसपा केन्द्रिय कार्यकारिणी समिति सदस्य समेत रहेकी मन्त्री यादवले टिकापुर थारु बिद्रोह राजनैतिक घटना भएको बताईन् । कैलालीबाट निर्वाचित साँसद रेशम चौधरी निर्दोष रहेको बताउँदै मन्त्री यादवले थारु भएकै कारण जनताको लोकप्रिय नेता जेलमा बस्नु परेको उल्लेख गरिन् । लाल आयोगको छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरि रेशम चौधरीलाई न्याय दिनुपर्ने उनको भनाई थियोे ।

जनता समाजवादी पार्टी शम्भुनाथ नगर अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य अनिरुद्ध प्रसाद सिंह यादव, बिनोद चौधरी, नवप्रवेशी शम्भुनाथ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा स्वातन्त्रबाट निर्वाचित वडा अध्यक्ष चौधरीसहित नेपाली कांग्रेस, एमाले, एमाओबादी, जनमत पार्टीलगायतका बिभिन्न पार्टी परित्याग गरि ३ सय भन्दा बढी जसपामा प्रवेश गरेका छन् । नव प्रबेशी नेताकार्यकर्तालाई अध्यक्ष उपेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले माला र अबिर लगाएर पार्टी प्रबेश गराएका थिए ।