Top_Header_Right_Add

बिष्णुपुर गाउँपालिकाले सके खाना खर्चमा ११ लाख

बिष्णुपुर गाउँपालिकाले सके खाना खर्चमा ११ लाख

न्यूज टुडे
राजबिराज, २९ भदौ ।
सप्तरीको बिष्णुपुर गाउँपालिकाले खाना तथा विविध खर्चमा ११ लाख खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित ५८ औं प्रतिबेदन अनुसार कानुनले तोकेको भन्दा बाहिर गएर मनलाग्दी खर्च गरेको पाईएको हो ।

गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ दफा ७१ बिपरीत विविध खर्च शिर्षकमा खानामा ११ लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय सरकार संचालन ऐन बमोजिम ब्ययको बजेट अनुदान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यताको आधारमा खर्च गर्नुपर्ने ब्याबस्था छ ।

गाउँपालिकाले २०७६÷०७७ मा खाना तथा विविध खर्चतर्फ मात्रै ११ लाख खर्च गरेको प्रतिबेदनमा उल्लेख छ । कानुनले तोकेभन्दा बाहिरको खर्चमा मितब्ययिता कायम गर्न प्रतिबेदनमा गाउँपालिकालाई सुझाव समेत दिएको छ । प्रतिबेदनअनुसार आर्थिक बर्ष २०७६÷०७७ मा मात्रै गाउँपालिकाको बेरुजु रकम १२ करोड २१ लाख ७२ हजार पुगेको छ । जस मध्ये ५ करोड ९५ लाख १० हजार रुपैयाँको प्रमाण पेश गर्नुपर्ने छ ।

यसैगरी ४ करोड ५५ लाख ४५ हजार रुपैयाँ पेश्की फछ्र्यौट गर्नुपर्ने, १ करोड ६८ लाख २ हजार नियमित गर्नुपर्ने र ३ लाख ५५ हजार असुल गर्नुपर्ने महालेखा परीक्षकको प्रतिबेदनले देखाउँछ । बिष्णुपुर गाउँपालिकामा आर्थिक बर्ष २०७६÷०७७ मा ६४ करोड ८८ लाख ७२ हजार बजेट मध्ये १८ दशमलव ८३ प्रतिशत बेरुजु ठहरिएको प्रतिबेदनमा उल्लेख छ ।

स्थानीय तहहरुमा नियम मिचेर खर्च गर्ने प्रवृत्ति मौलाउँदै गएपनि सुधारका लागि नियमकारी निकायहरूले पहल गरेको देखिदैन । कानुनले तोकेको भन्दा बाहिर गएर मनलाग्दी खर्च गर्ने, सुबिधा लिने, सभाले पारित गरेको भन्दा बाहिर खर्च गर्ने स्थानीय तहहरुको परिपाटीप्रति जनगुनासो बढ्दै गएको छ ।

बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले खाना खर्चको बारे आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । बजेट खर्च बारे प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नु, उनले भने, सोबारे कार्यकारीलाई थाहा हुन्छ ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन प्रसाद यादवले नियम अनुसार नै खर्च भएको हुन सक्ने बताए । नियम अनुसार नै खर्च भएको होला यद्यपि आफुले प्रतिबेदनमा उल्लेख भएको विवरण हेरि नसकेको उनले प्रतिक्रिया दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer