Top_Header_Right_Add

मन्दिरको दोहन

मन्दिरको दोहन

राजविराजस्थित ऐतिहासिक हरिनन्देश्वर महादेव मन्दिरको महिमा बयान गरिरहनु नपर्ला । कोशी कटानका कारण राजविराज ल्याएर स्थापना गरिएको यो मन्दिर यस नगरका पुराना धार्मिक धरोहर मध्येकै एक हो ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको यो पुरानो धरोहर अहिले क्रमशः अतिक्रमणको शिकार बन्दै गएको छ । मन्दिर अगाडिको खाली जग्गामा अहिले धमाधम कठघरा राख्ने क्रम बढेका कारणले मन्दिर नै छोपिन थालेको भए पनि सरोकारवाला निकायले यस बारेमा चासो राखेको देखिँदैन ।

महा शिवरात्री, तीज तथा विभिन्न पर्वका समयमा भक्तजनको भिडभाड रहने यस मन्दिरको खाली जग्गालाई अतिक्रमणबाट जोगाउनु पर्ने आवश्यकता छ । मन्दिरको जमीनलाई व्यक्तिले कब्जा गरेपछि उक्त स्थलमा फोहर बढ्ने तथा जुन उद्देश्यकालागि मन्दिरलाई जग्गाको व्यवस्था गरिएको हो त्यसमा बाधा पुग्नेमा आशंका छैन । अहिले धमाधम कठघरा ल्याएर राख्ने क्रम बढेको छ । यसलाई समयमा नै रोकिएन भने क्रमशः बाँकी जग्गामा पनि यसरी नै अतिक्रमण नबढ्ला भन्न सकिन्न ।

मन्दिरको जग्गा अतिक्रमणबाट मुक्त गराउने तथा नियमित पूजाआजाको प्रबन्धका साथ मन्दिरलाई सहज रुपमा सञ्चालनको बातावरण मिलाउन जरुरी भएको छ । यसकालागि स्थानीय सरकारका रुपमा रहेको स्थानीय तहदेखि प्रहरी प्रशासनले पनि ध्यान दिने बेला आएको छ । मन्दिरका नाउँको सम्पत्ति कब्जा गर्ने अधिकार कुनै व्यक्तिलाई हँुदैन । तर पनि हरिनन्देश्वर महादेव मन्दिरको जग्गामा व्यक्ति व्यक्तिले अतिक्रमण गरिरहेका कारण यसमा सबै सरोकारवालाको ध्यानाकर्षण जरुरी छ ।

अतिक्रमण हटाएर मन्दिर तथा यस आसपासको सरसफाईका साथै नियमित पूजाआजाको व्यवस्था हुन सके मात्र यस धार्मिक स्थलको महत्व रहिरहने छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer