• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चाँडो चाँडो सरुवा

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको सरुवा भएको छ । आएको केही महिनामै उनको सरुवा भएको हो । आचार्य सप्तरी रहेका समयमा राम्रो काम गरेको भनि स्थानीयले प्रशंसा पनि गर्न थालेका थिए । विरामीलाई उपचारकालागि आफ्नै गाडीमा पठाउने व्यवस्था मिलाउनेदेखि तिलाठी कोईलाडीका एक अपांग व्यक्तिलाई उनको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र दिएको विषय निकै सकारात्मक रुपले चर्चामा रहेको थियो ।

जिल्लाका प्रमुख प्रशासकका रुपमा प्रजिअ आचार्यले वस्तुस्थिति बुझ्दै सकारात्क तरिकाबाट काम गर्ने थालनी गरेका थिए । सरकारी जागिर खाएपछि सरकारले खटाएको ठाउँमा त जानै पर्ने हुन्छ । त्यसैले कर्मचारीको सरुवालाई स्वाभाविक नै भनिएला । तर केही काम गरेर देखाउने समय पनि नपाई अति छिटो हुने सरुवाले चाहिँ कस्तो परिणाम देला ? सरुवा गर्नु नै थियो भने पहिले नै त्यहाँ पठाएको भए पनि यसरी तारन्तार स्थान परिवर्तनको अवस्था आउँदैनथ्यो ।

सरकार परिवर्तन भएपछि अघिल्लो सरकारले जहाँजहाँ प्रशासकहरुको पदस्थापन गरेको रहन्छ त्यसमा फेरबदल गर्ने परम्परा बढी देखिने गरेको छ । आचार्यको सरुवा पनि यस्तै तरिकाबाट भएको हो भने त्यसले के उपलब्धि देला भन्न केही समय कुर्नै पर्दछ । कुनै पनि जिल्लाका प्रशासकलाई सरुवा गर्ने अनि उनको स्थानमा आएका अर्का प्रशासकले पहिले जिल्लाको वस्तुस्थिति बुझ्दैमा केही समय बित्ने भएका कारण काम गर्ने बेलामा सरुवा भएपछि जिल्लामा ल्याउन चाहेको प्रशासनिक सुधारको प्रयास त्यसै थन्किएर जाने हुन्छ ।

त्यसैले सरुवा गर्दा यस्ता कुरामा पनि ध्यान दिन सकिए मात्र त्यसको औचित्य स्थापित हुनेछ भन्ने अपेक्षा राख्न सकिने छ ।