• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नगरको बेहाल कहिलेसम्म ?

राजविराजमा यति बेला सडक नालाको अवस्था बेहाल छ । बिभिन्न ठेकेदार कम्पनीले लिएको सडक निर्माणको ठेक्का सुस्त गतिमा काम गरेका कारणले नगरवासीमाथि आवागमनको समस्या बढेको हो ।

ठाउँठाउँमा सडक खाल्डाखुल्डी परेको, पानी जम्ने गरेका कारण वर्षायाममा त आवागमनमा सकस त छ नै । सुक्खायाममा पनि धूलो उडेर झनै सकस हुँदा पनि काम सम्पन्न गर्नेतिर कसैको ध्यान नपुगिरहेको अवस्था छ । ठेक्का लिने तर काम समयमा पूरा नगर्ने प्रबृत्ति पुरानै रोग हो । त्यसैले सरोकारवाला निकायले यस प्रति अव पनि चासो देखाएन भने यो काम कहिले पूरा होला भन्न सकिन्न । समस्या सडकको मात्र होईन, नगर क्षेत्रमा निर्माणकार्य थालनी गरिएका नालाहरु प्नि अधुरै छन् । यसले गर्दा सामान्य वर्षामा पनि नगरक्षेत्र जलमग्न हुने गरेको छ ।

अधुरो नाला छोडि दिएका कारणले पानी निकास नहुँदा यस पालिको वर्षामा नगर क्षेत्र जलमग्न मात्र बनेन कतिपय टोलमा त बाढीको पानी नै पसेर हैरान बनायो । समयमा काम गराउनेतर्फ सरोकारवाला निकायले देखाएको उदासिनताका कारणले नै यस्तो अवस्था आएको हो भनियो भने शायद त्यो अन्यथा नहोला । सरकारको बजेटबाट गरिने यस प्रकारका सार्वजनिक निर्माणका काममा बिलम्ब गरेर जनतालाई कष्ट कटाउने प्रबृत्ति सरासर अर्घेल्याइँ नै मान्नु पर्ने हुन्छ ।

नेपालका विभिन्न सरकारी योजनामा काम ढिलो भयो भनि पटक–पटक गुनासो उठ्दै आएको छ । समयमा काम नगर्नेमाथि कारवाही गरिने भनि सरकारी स्तरबाट बेलाबखतमा प्रतिक्रिया पनि आउने गर्दछ । राजविराज नगरपालिकामा पनि यसै प्रकारको विकृति जरो गाडेर बसिरहेको छ । तर कारवाही गर्ने निकायले दखाउने गरेको उदासिनताका कारणले ढिलासुस्ती गरिरहनेका कानमा अहिले पनि बतास लाग्न सकिरहेको छैन । यसै प्रकारले विकासका काममा कसरी गति दिन सकिएला ?