• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शहीद परिवारलाई हेर

अधिकार प्राप्तीका विभिन्न आन्दोलनमा धेरैले जीवन उत्सर्ग गरेका छन् । तिनै प्रातः स्मरणीय शहीदको बलिदानीबाट अहिलेको परिवर्तन आएको हो ।

अधिकार प्राप्तिकालागि २००७ साल तथा त्यस यता पनि बिभिन्न आन्दोलन भए । ती आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलेको आवश्यकता त हुँुदै हो । यसका साथ साथै शहीदका परिवारजनका समस्यालाई पनि हेर्न जरुरी पक्ष हो । मधेश आन्दोलनका क्रममा पनि धेरैले सहादत प्राप्त गरे । प्रदेश २ सरकारले ती शहीदहरुका परिवारकालागि प्रत्येक घरमा एउटा रोजगारी दिने भनि घोषणा गरेको थियो ।

यसरी प्रदेश सरकारले गरेको घोषणालाई सबैले स्वागत पनि गरे । ती मध्ये केही शहीदका परिवारजनलाई कार्यालय सहयोगीका रुपमा ज्यालादारीमा जागिर दिईएको भए पनि त्यो पनि नपाएका धेरै शहीदका परिवार रहेको समाचार आएको छ । सरकारले आफूहरुकालागि कुनै व्यवस्था नगरिदिएको भन्दै उनीहरुले गुनासो पोख्न थालेका छन् । यसरी गरेको घोषणालाई पनि कार्यान्वयन नगर्ने हो भने उनीहरुमा सरकार प्रति कस्तो धारणा बन्ला ? भन्नेतिर पनि सोच्ने बेला आएको छ ।

शहीदको बलिदानीबाटै अहिलेको उपलब्धि आएको हो । यसको प्रथम श्रेय त उसैलाई जानेछ जसले अधिकार प्राप्तीकालागि जीवन नै उत्सर्ग गरेका छन् । प्रदेश सरकारले गरेको घोषणालाई कार्यान्वयन गर्न अब बिलम्ब गर्नु हुन्न । ती पीडित शहीद परिवारजनको समस्या प्रति उदारताका साथ विचार गरिदिन सकियो भने यसलाई अवश्य पनि सकारात्मक कार्य मानिने छ ।