Top_Header_Right_Add

रुपनीमा कोरोना विरुद्धको खोपमा कर्मचारीले मनोमानी गरेको आरोप

रुपनीमा कोरोना विरुद्धको खोपमा कर्मचारीले मनोमानी गरेको आरोप

न्यूज टुडे
राजबिराज, १७ साउन ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीमा कोरोना विरुद्धको खोपमा कर्मचारीहरुले मनोमानी गरेको स्थानीयले आरोप लगाएका छन् । शनिबारदेखि शुरु भएको कोरोना विरुद्ध खोपमा कर्मचारीले पहुँचवाला तथा आफ्ना आसेपासेलाई प्राथमिकता दिने गरेको भन्दै स्थानीयले बिरोध जनाएको हो ।

आइतबार स्थानीयबासी स्वास्थ्यकर्मीको विरुद्धमा उत्रिएपछि स्थिति तनावपूर्ण बन्न पुगेको थियो । विवाद बढेपछि झडप हुने खतरा भएकाले प्रहरीले भिडलाई नियन्त्रणमा लिएका थिए । लाईनमा बसेकालाई खोप नलगाई पहुँचवाला र आफ्ना आसेपासेलाई खोप लगाएकाले बिबाद शुरु भएको स्थानीय धिरेन्द्र चौधरीले बताए । खोप केन्द्रमा खटिएका स्वास्थ्य कर्मचारीले नै विवाद उठाए, चौधरीले भने, दुई दिनदेखि लाईन लागेका निमुखाले खोप लगाउन पाएन, उनले थपे– स्वास्थ्यकर्मीले आफ्ना आसेपासे तथा पहुँचवालालाई खोपमा प्राथमिकता दिएकाले बिबाद उत्पन्न भएको हो ।

रुपनी गाउँपालिका १ का ५२ बर्षीय खेम रोईलाले दुई दिनदेखि लाईनमा बस्दा समेत खोप लगाउन नपाएको बताए । शनिबार पनि दिनभर लाईन पर्खेर बसे तर पालो आएन, उनले भने, आइतबार नागरिकताको प्रतिलिपी बुझाएर बसे तर पालो नआई खोप सकियो फेरि आउनु भनी जवाफ पाए । उनले बोल्न सक्ने र पहुँचवालालाई मात्र खोपमा प्राथमिकता दिई सर्वसाधारणहरुले खोप लगाउन नपाएको गुनासो गरे । आफू बिहान १० बजेदेखि लाईनमा बसेको सुनाउँदै स्थानीय तिर्थ बहादुर खडकाले आफ्नो पालो नआएको तर १–२ बजे आउनेले खोप लगाएर गएको जानकारी गराए ।

रुपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नारायण यादवले खोप खकिएर लगाउन नपाएकाले सामान्य होहल्ला भएको बताए । स्वास्थ्य चौकीबाट खोप सकिएको कुराको खबर प्राप्त भएको बताउँदै उनले स्वास्थ्यकर्मीहरुबाट भएको लापरबाही भन्ने कुरा आफुलाई थाहा नभएको भन्दै गैर जिम्मेवारी पूर्ण जवाफ दिए । उक्त स्वास्थ्य चौकीका लागि २ सय ९५ नब्बे डोज जोनसन एण्ड जोनसन नामक कोरोना विरुद्धको खोप पठाइएका थिए ।

यसैगरी अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २ स्थित सितापुर स्वास्थ्य चौकीमा समेत कर्मचारीले मनोमानी गरि कोरोना विरुद्ध खोप उमेर समुहकाले लगाउन नपाएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्यकर्मीहरुले लाईनमा लागेकालाई भन्दा उमेर नपुगेका आफ्ना मान्छेलाई खोप दिएकोले आफुहरु खोप लिनबाट बञ्चित भएको उनीहरुले आरोप लगाएका छन् । स्वास्थ्य चौकी सितापुरका ईन्चार्ज हरि चौधरीले सरकारले तोकेका लक्षित समूह र उमेरकालाई खोप दिएको बताए । खोप सिमित मात्रमा आउँदा धेरै सेवाग्राहीहरु पालो पर्खिदा पर्खिदै सकिएकोले धेरै ब्यक्तिलाई घर फर्काउनु परेको उनले जानकारी दिए ।

स्वास्थ्यकर्मीले कसैलाई काखापाखा नगरेको दाबी गर्दै चौधरीले ५० देखि ५५ उमेर समुह, वैदेशिक रोजगारी जाने भिसा भएका र एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी, संचारकर्मीसहित अग्रपंक्तिमा बसेर काम गर्नेलाई प्राप्त २ सय २५ डोज कोरोना विरुद्धको भ्याक्सिन लगाएको जानकारी दिए ।

सप्तरीमा अमेरिकी कोरोना विरुद्धको खोप जनसन एण्ड जनसन लगाउन शुरु भएपछि खोप केन्द्रहरुमा उत्साहपूर्वक खोप लगाउन पुग्ने गरेका छन् भने खोपको अभावले बिबाद उत्पन्न हुने गरेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले माग भन्दा कम खोप आएकाले समस्या हुने गरेको बताए । उनले हाल छुटेकाहरुलाई एकसाता पछि भेरोसिल खोप लगाउन शुरु गरिने बताए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer