• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सरकारको साख

मुलुकमा भ्रष्टाचार र बेथिति बढेको भनि सर्बत्र आलोचना भईरहेको समयमा सरकार परिवर्तन भएको छ । महँगी अचाक्ली रुपमा बढेका कारण सरकारले बजार भाउ नियन्त्रणकालागि पनि काम गर्न सकिरहेको छैन भनि जनगुनासो समेत बढिरहेको छ ।

विगतको सरकारले गर्न नसकेका तथा जनताले पीडा भोगिरहेका समस्याका बारेमा प्राथमिकताका साथ काम गर्ने दायित्व वर्तमान सरकारमाथि आएको छ । सरकारले काम गर्न सक्यो भने मात्र उसमाथि जनताको पनि विश्वास बढेर जाने हो । हुनत वर्तमान सरकारमा विभिन्न दलहरुको सहभागिता रहेका कारण साझा सहमतिका साथ काम गर्ने छ भन्ने जनअपेक्षा पनि छ ।

पाँच वर्ष सरकारको कार्यकाल रहेकोमा केपी शर्मा ओली नेतृत्वको सरकारले करीब साँढे तीन वर्ष मुलुक सञ्चालन गरिसकेका कारण वर्तमान सरकारको समयाबधि करीब डेढ वर्ष मात्र रहेको छ । यस छोटो समयमा ठूला ठूला विकास निर्माणका काम होलान् भन्ने अपेक्षा राखियो भने शायद समयले साथ नदेला । सरकारले जनतालाई तत्काल राहत दिने खालका कार्यक्रम ल्याएर कार्यान्वयन गर्न सक्यो भने छोटो समयमा पनि यसको प्रशंसा हुन सक्छ ।

विशेष गरी विभिन्न बेथितिमाथि निगरानी र कडाई तथा भ्रष्टाचार न्यूनीकरणका क्षेत्रमा सरकारले काम अघि बढाउन आवश्यक छ । यसैगरी आकाशिँदो महँगी नियन्त्रण गर्न सकियो भने यसबाट नेपाली जनताले तत्कालै राहतको अनुभूति गर्न पाउने छन् । यस प्रकारका समस्या समाधानकालागि सरकारले प्राथमिकताका साथ काम गर्न सक्यो भने अवश्य पनि यसको साख बढ्ने अपेक्षा लिन सकिन्छ ।