बृजमान तामाङ
राजबिराज, १५ साउन ।
सप्तरीलगायत मुलुकभरी शुक्रबार साउन १५ अर्थात खिर दिवस हर्सोउलाका साथ मनाएको छ । प्राचीन कालदेखि वर्षा ऋतुको बेला खिर खाने परम्परा अनुसार साउन १५ गते खिर खाएर दिवसको रुपमा मनाउन थालिएको हो ।
साउन १५ गते खिर दिवसको दिन घरघरमा खिर खाएर खिर दिवस मनाएको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ का कुशेश्वर प्रसाद चौधरीले बताए । किसानहरूले रोपाई सकेपछि खिर दिवसको दिन ईष्टमित्र, आफन्त, चेलिबेटीलाई घरमा बोलाएर खिर खाने चलन रहेको उनले जानकारी दिए ।
साउन महिनामा गाउँघरमा पनि खेतिको काम सकिन्छ, चौधरीले भने, हरियाली बढी हुने भएकोले धेरै घाँस पाउने बेलामा गाई भैसीले पनि दूध अलिक बढी दिन्छ । दूध धैरै भएपछि सबै मिलेर खिर पकाएर खाएर साउन १५ लाई खिर दिबसको रुपमा मनाउने गरिन्छ । खिरलाई पबित्र र महत्वपूर्ण बस्तुको रुपमा लिई भगवान शिवलाई चढाएर मात्र खाने प्रचलन रहेक रुपनी गाउँपालिका ६ का किसान राम बहादुर कार्कीले बताए । साउन भगवान शिवको महिना हो कार्कीले भने, शिवलाई दुध र दुधबाट बनेको परिकार मनपर्ने हुनाले खिर लगायत मिठाई बिधिपूर्वक चढाईन्छ । खिर दिवसको दिन चामल, मकै लगायतका अन्नमा दूध, चिनी मिसाएर बनाईने उनले बताए ।
कोरोना महामारी महामारीको प्रतिकूल समयमा दुधबाट बनेको खिरले मनव शरीरमा रोग प्रतिरोधी क्षमता बिकास गर्ने भएकोले थप उत्साहका साथ खिर खाएर दिवस मनाएको स्थानीयहरुले बताएका छन् । साउने झरी पर्नेबेलामा तातो खिरले स्वास्थ्यमा राम्रो गर्ने जनबिश्वासका साथ मुलुक भरि खिर खाएर दिवसको रुपमा मनाई रहेका छन् ।