• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पत्रकारका समस्या

कोरोनाका कारण नेपालको प्रेस जगत पनि नराम्रोसित प्रभावित हुन पुगेको छ । पत्रकारले कोरोना संक्रमणका समयमा पनि फिल्डमा खटेर रिपोर्टिंग गरिरहेको अवस्था एकातिर विद्यमान छ । प्रो एक्टिभ जर्नालिज्मका दृष्टिकोणबाट पनि फिल्डमा खटेर रिपोर्टिंग गर्नु पत्रकारिताको आवश्यकता नै हो ।

यस काममा नेपालका पत्रकारले आफूलाई तत्पर नै राखेका छन् । तर अहिलेको अवस्थामा पत्रकारिता क्षेत्र नराम्ररी प्रभावित भईरहँदा पनि सरकारले तिनलाई टिकाउनकालागि जेजस्तो प्रयास गर्नुपर्ने हो त्यसमा कमी देखिदैछ । पत्रकारिताकालागि विज्ञापन आवश्यकछ । तर यति बेला विज्ञापनको अभाव छ । यसले पत्रकारिताको निरन्तरतामा आर्थिक समस्या उत्पन्न भईरहेको छ ।

आर्थिक समस्या समाधानकालागि फेरि पनि आवश्यकता विज्ञापनकै पर्दछ । सरकारले कठिन अवस्थामा यस क्षेत्रलाई टिकाई राख्नकालागि जेजस्तो सहयोग गरि दिन जरुरी थियो त्यो नगरेका कारणले पनि यसको अवस्थामा सुधार आउन नसकिरहेको हो । आर्थिक समस्याका कारण सञ्चार गृहहरुले कतिपय पत्रकारलाई कामबाटै हटाएका छन् । पत्रकारको जागिरकै असुरक्षा बढेको छ । काममा लगाएका पत्रकार मध्ये पनि कतिपयको तलब घटाईएको छ भने कतिले त महिनौंदेखि त्यो तलब पनि पाउन नसकिरहेको अवस्था विद्यमान छ । जोखिम उठाएर काम गर्दा पनि समयमा तलब नपाउँदा पत्रकारलाई कसरी गुजारा चलाउने भन्ने चिन्ताले छोडेको छैन । यस्तो विषम परिस्थितिका वीच काम गरिरहेका पत्रकारकालागि सरकारले केही पनि नसोचिदिनु बिडम्बना नै भएको छ । कामको सुरक्षा तथा समयमा तलब पाउने व्यवस्था नहुने हो भने पत्रकारले पेशामा टिकिरहन चुनौति छ । यसमा सरकारले चसो दिनै पर्ने हुन्छ ।