प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सबैभन्दा ठूलो पार्टीका रुपमा संसदमा उपस्थिति जनाएको नेकपा एमाले नेतृत्वको सरकार पछि अहिले देउवा सरकार प्रमुखको जिम्मेवारीमा आएका हुन् ।
सरकार परिवर्तन भएपछि यति बेला प्रधानमन्त्री त्यसलाई पूर्णता दिने दौडधूपमा लागेका छन् । मन्त्रीको जिम्मेवारी कस कसलाई दिने भन्नेमा सरकारलाई विश्वासको मत दिएका नेताहरुसित प्रधानमन्त्रीको घनिभूत छलफल चल्न थालेका समाचार आउने गरेका छन् । सरकार नयाँ बनेको छ । तर यस बेला देशमा अनेक थरिका समस्या बढेका छन् । ती समस्याको निबारणकालागि सरकारको ध्यान जानु पर्छ भन्ने जनताको मत रहेको छ ।
समस्याको उठानै गर्दा यति बेला कोराना महामारीका कारण मुलुक आक्रान्त छ । यो महामारीले धेरैको ज्यानै लिईसकेको छ । विरामीको उपचारमा समस्या रहेको समाचार बारम्बार आउने गरेका छन् । निजी अस्पतालले कोरोना संक्रमितको उपचारमा अत्यधिक रकम लिने गरेको गुनासो बढ्दो छ । सरकारले उपचारको शुल्क तोकेको भए पनि निजी अस्पतालले त्यसभन्दा कैयौं गुणा बढाएर शुल्क लिने गरेका छन् । आर्थिक क्षमता भएकाले त महँगो शुल्क तिरेर पनि उपचार पाउलान् । तर कमजोर आर्थिक अवस्था हुनेकालागि उपचार कसरी गर्ने भन्ने चिन्ता छ । सरकारले सबैलाई सर्बसुलभ रुपमा उपचारको व्यवस्था मिलाउन जरुरी छ ।
यसै गरी कोरोनाको संक्रमणबाट जोगिनकालागि सबैलाई खोप उपलब्ध गराउने आवश्यकता बढेर गएको छ । मुलुकमा बेरोजगारीका कारण समस्यामा परेका जनताकालागि के गर्न सकिन्छ भनि योजना ल्याउने दायित्व पनि सरकारकै हो । समग्रमा जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सके मात्र सरकारको सफलता प्रमाणित हुनेछ ।