न्यूज टुडे
फत्तेपुर, १६ असार ।
बन्दाबन्दीको समयमा विद्युत महुसुलमा जरिवाना लिएको भन्दै उपभोक्ताहरुले गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण कंचनपुर बितरण केन्द्र फत्तेपुर फ्युज सेवा मोबाईल काउण्टरले बन्दाबन्दीमा समेत विद्युत महुसुलमा जरिवाना लिएको भन्दै उपभोक्ताहरुले गुनासो गरेका हुन् ।
कोरोना महामारीसँगै बन्दाबन्दीको समयमा जेठ महिनाको बिल नै नकाटी असार महिनाको बिलमा १० प्रतिशत जरिवाना काटेर पठाएको उपभोक्ता केदार पराजुलीले बताए । लकडाउन अबधिको जेठ महिनाको बिल नै आएन र विद्युत महुसुल काउण्टर खुल्ला नभएकोले महुसुल बुझाउन सकिएन, पराजुलीले भने, असारमा बन्दाबन्दी खुकुलो भएसँगै असार १३ गते बिल आयो, उनले थपे – महुसुल बुझाउनु जाँदा जेठ महिनाको महुसुलसहित १० प्रतिशात जरिवाना लिए ।
सरकारले लकडाउनमा विद्युत महुसुलमा जरिवाना छुट गर्ने सुन्नमा आएपनि कार्यालयले जरिवानासहित महसुल बुझेको उपभोक्ताहरुले बताएका छन् । बन्दाबन्दीमा विद्युत महसुलमा जरिवाना लिएर अन्याय गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
नेपाल विद्युत प्राधिकरण कंचनपुर बितरण केन्द्रका प्रमुख संजिव साहले यो यहाँको समस्या होईन केन्द्रबाट स्टम गडबडी भई जरिवानासहित आएको बताए । यो समस्या सामाधानका लागि केन्द्रमा जानकारी गराई सकेको उनले बताए ।