यसपालि पनि असार १५ को अवसर पारेर राष्ट्रिय धानदिवस मनाईयो ।
केन्द्रदेखि प्रदेशसम्मका सरकारका मन्त्री, जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुले राष्ट्रिय धानदिवसका अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाए अनि हिलोमा धान रोप्ने काम पनि गरे । एक दिन भएपनि मन्त्री तथा उच्च पदस्थहरुको पाइला हिलोमा प¥यो । उनीहरुले प्रमुख कृषि उत्पादनका रुपमा रहेको धानलाई उत्पादकत्व बढाउने विषयमा मन्तव्य पनि राखे ।
प्रत्येक वर्ष असार १५ का दिनलाई यसै गरी मनाइँदै आएको छ । उत्पादकत्व बढाउने भनिए पनि व्यवहारतः मुलुक खाद्यान्नमा परनिर्भर बन्दै गएको छ । कृषि प्रधान मुलुक भनिएपनि सालैपिच्छे अरबौंको चामल मात्र बाहिरबाट आयात भई नै रहेको तथ्यांक छ ।
यो अवश्य पनि चिन्ताको विषय हो । कुरा धानको मात्र होइन । समग्र रुपमा हेर्दा हाम्रो कृषि क्षेत्र नै क्रमशः आह«ालोतर्फ उन्मू भइरहेको छ । परनिर्भरता चामलको मात्र पनि होइन । दाल, गेडागुडी, फलफूल, माछामासुदेखि तेल र दूग्ध पदार्थ समेत बाहिरबाट ठूलो परिमाणमा आयात भईरहेको अवस्था छ । यसले गर्दा मुलुकको व्यापार घाटा पनि बढेर गएको छ ।
मुलुकको समृद्धिका लागि यो नै ठूलो बाधक हो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि सारेको त छ । तर यो लक्ष्य हासिल गर्नका लागि कृषि क्षेत्रको उत्थानमा जेजति काम हुनुपर्ने आवश्यकता थियो, त्यो पूरा हुन सकिरहेको छैन । कृषिको उत्थानले खाद्यान्नको परनिर्भरता कम गर्ने, व्यापार घाटालाई सन्तुलनमा ल्याउन मात्र नभई रोजगारीका अवसर पनि सिर्जना गर्ने भएका कारण यसमा जोडतोडका साथ लाग्न जरुरी छ ।