• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

स्वास्थ्यमा प्रभाव पार्ने कुरालाई सामान्य ठानेर बेवास्ता गर्ने बानीमा सुधार आउनु पर्छ ः उपप्रमुख झा

स्वास्थ्यमा प्रभाव पार्ने कुरालाई सामान्य ठानेर बेवास्ता गर्ने बानीमा सुधार आउनु पर्छ ः उपप्रमुख झा

न्यूज टुडे
राजविराज, १५ असार ।
राजबिराज नगरपालिकाकी उप–प्रमुख साधना झाले स्वास्थ्यमा प्रभाव पार्ने कुरालाई सामान्य ठानेर बेवास्ता गरिने बानीमा सुधार गर्न आग्रह गरेकी छिन् । राजविराजमा आयोजित एक कार्यक्रममा झाले स्वास्थ्यलाई प्रभाव पार्ने व्यापारीहरुको लापरवाही र मनोमानीमाथि निगरानी गर्नुपर्नेमा जोड दिदै सो कुरा बताएकी हुन् ।

मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यद्वारा अनौपचारिक क्षेत्र सेवा केन्द्रले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको प्रभावकारीता र जिल्लाको मानव अधिकारको अवस्थाका सम्बन्धमा भएको अनुगमनका क्रममा उप–प्रमुख झाले मानव अधिकारको पक्षमा समन्वय र सहकार्यमा स्वास्थ्य उपचार, उद्धार, राहतका बिभिन्न काम भएको जानकारी दिइन् ।

मानव अधिकार आयोग प्रदेश २ कार्यालयका संयोजक विरबहादुर मगरले मानव अधिकारकर्मीहरुले अप्ठ्यारो बेलामा झनै सक्रिय हुनुपर्ने बताए । मानव अधिकार रक्षकहरु प्राप्ति भन्दा प्रदान गर्न तत्पर रहनुपर्ने बताउँदै उनले कुनै पनि अधिकारको हनन् नहुने कुरामा निगरानी राख्नुपर्ने बताए । एउटा अधिकारको हनन्ले अर्को अधिकारलाई पनि प्रभावमा पार्ने भन्दै मगरले शिक्षाको अधिकारबाट वञ्चित हुँदा अन्य धेरै अधिकारबाट विमुख हुने अवस्था आउने बताए ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले नगरपालिकाले छुट्याएको बजेट वास्तविक लक्षित वर्गसम्म पुगे–नपुगेको बारे निगरानी गर्न र सुझाव दिन समुहलाई आग्रह गरे ।

राजविराज नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था, मानवअधिकार सम्बन्धि नीति तथा कार्यक्रम र बजेट, सेवा प्रवाहको अवस्थाका सम्बन्धमा समेत अन्तरक्रिया भएको छ ।

मानवअधिकार निगरानी समुहले बैठक खर्चवापतको रकम गरिब तथा असहाय महिलाको घर निर्माणमा, आगलागी पीडित असहाय दलित महिलालाई र उपचारका लागि गरिब महिलालाई प्रदान गरेर प्रेरणादायी काम गरेको सहभागीहरुले बताए ।

राजविराजमा ०७६ असोज ६ गते मानवअधिकार निगरानी समुह गठनपश्चात शिक्षा, स्वास्थ्य, खाद्य, आवासको अधिकार सम्बन्धमा अन्तरक्रिया, अस्पताल र बिद्यालयको अनुगमनलगायत जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको इन्सेकका प्रदेश संयोजक राजु पासवानले बताए ।

यसैगरी बालअधिकार चेतना समूह गठन गरी विद्यार्थीहरुबीच अभिमुखिकरण, बक्तृत्वकला, निबन्ध प्रतियोगिताहरु, शिक्षक, बिद्यार्थी र अभिभावकबीच अन्तरक्रिया, कृषि कार्यालयसँग छलफल, मानवअधिकार र कोभिड–१९ बारे जनचेतनामूलक विभिन्न कार्यक्रममा समन्वय र सहकार्य गर्दै आएको सहभागीहरुले बताए ।

मानवअधिकार निगरानी समूह राजविराजका अध्यक्ष रघबुर साहको अध्यक्षता र नगर प्रमुख शम्भुप्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य कैलाश दास, परियोजना प्रदेश २ का फोकल पर्सन बरुण बस्याल, निगरानी समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।