• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दश बर्षदेखि सदा परिवारको झुपडीमा बास, दलित भएको कारण घर निर्माणमा अबरोध

दश बर्षदेखि सदा परिवारको झुपडीमा बास, दलित भएको कारण घर निर्माणमा अबरोध

बृजमान तामाङ
राजविराज, १३ असार ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरका एक सदा (मुसहर) परिवार १० बर्षदेखि त्रिपालले छाएको सानो झुपडी बास बस्दै आएका छन् । स्थानीय वसन्त सदाका ८ जनाको परिवार त्रिपालमुनीको झुपडीमा बस्न बाध्य भएका हुन् ।

भएको फुसको सानो घर पनि महलमा बस्ने सपना देखाएर जनता आवास कार्यक्रमले भत्काएर नयाँ घार बनाउन शुरु गरे, सदाले भने, उपल्लो जातकाहरुले जालझेल गरेर घर बनाउन अबरुद्ध गरेपछि ठूलो समस्यामा परेको छु । आफू पतिपत्नी २ वटा छोरा, दुईवटी बुहारी र नातानातिनी गरि ८ जनाको परिवार १० बर्षदेखि त्रिपाल मुनि बस्दै आएको उनले दुखेसो सुनाए ।

अहिले बुढाबुढी र कान्छा छोरा बुहारी एउटै झुपडीमा बसेका छौं सदाले भने, दिउँसो एकै ठाउँमा खानापानी भएपनि रात परेपछि पत्नी र बुहारीलाई झुपडीमा छोडेर बाउँछोरा अर्काको गोठमा गएर रात कटाउनुपर्छ । जेठो छोरा बुवारी र नातिनातिनी आफन्तको घरमा ओत लागेको उनले बताए । गाउँकै सरकारी जग्गामा सरकारले घर बनाउन शुरु गरेपनि उपल्लो जातका केही ब्यक्तिले आफ्नै समुदायका ब्यक्तिलाई उचालेर घर निर्माण गर्न नदिएको सदाले आरोप लगाएका छन् ।

आफू दलित भएका कारण उपल्लो जातको बस्ती भएको ठाउँमा घर निर्माण गर्न नदिने नियतले दलित समुदायलाई प्रयोग गरि आफुबिरुद्व मुद्दा गर्न लगाएको सदाको भनाई छ । सदाले धेरै पटक मुद्दा पनि जितेको सुनाउँदै घर बन्न नदिन नचाहनेहरुले पालैपालो आफुबिरुद्ध मान्छे प्रयोग गरेको उनले बताए । सदाले गाउँपालिकामा घरबासको ब्यबस्था मिलाई दिन गाउँपालिका अध्यक्ष प्रमानन्द यादवलाई पटक–पटक निवेदन गर्दा समेत सुनुवाई नभएको गुनासो गरे । अध्यक्ष यादबले आफू दलित भएको कारण उपल्लो थर बसोबास भएको ठाउँमा घर निर्माण गर्न हँुदैन भन्दै दुव्र्यवहार गरेको सदाको आरोप छ ।

राजगढ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ललित कुमार सिंहले सदामाथि ठूलो अन्याय भएको बताए । सदाको घर निर्माण शुरु गरेको स्थानमा ९० बिघा सरकारी जमिन भएपनि बहुसंख्यक जातको हालीमुहाली रहेकोले सदा बिचल्लीमा परेको बताए । वडा अध्यक्ष सिंहले आफु र अन्य जनप्रतिनिधि सहितकाले अध्यक्ष यादवको ध्यानाकर्षण गराउँदा पनि तल्लो जातकालाई अन्यत्र ब्यबास्था मिलाउनु पर्छ भन्दै चासो नदिएको बताए ।

सदाको पुनर्बासको लागि २ आर्थिक बर्ष बजेट बिनयोजन गर्दा समेत गाउँपालिकाले फ्रिज गराएको अध्यक्ष सिंहको आरोप छ । सिंहले जिल्ला प्रशासन कार्यालय, सुकुम्बासी आयोगसहितका कार्यालयहरुमा सदाको समस्या सामाधानको प्रयास गर्दा समेत कतैबाट सहयोग नपाएको गुनासो गरे ।

यसबारे अध्यक्ष यादवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।