जितेन्द्र ‘जितु’
राजविराज, १८ चैत्र ।
आम सर्वसाधारणको करौडो ठगेर वेपत्ता रहेका राजविराजका आईएमई संचालक एवम् कपडा व्यवसायी संजय सिन्धी र सुनिल सिन्धी दाजुभाई विरुद्ध मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले उनीहरुको खोजि गरिराखेका छन् । उनीहरु विरुद्ध रेड कर्नर नोटिस जारी गराउने प्रक्रियामा समेत प्रहरी लागि परेका छन् ।
यद्यपी उक्त प्रकरणमा राजविराज नगरपालिका तथा नगरपालिका अन्तर्गतको न्यायिक समिति माथि समेत सर्वसाधारण तथा कानुनका जानकारहरुले प्रश्न उठाउन थालेका छन् ।
सिन्धी दाजु–भाई फरार भएको दुई दिन अघि मात्रै उनीहरुको स्वामित्वमा रहेको बिटोरी जग्गा नियम प्रक्रिया मिचेर राजविराज नगरपालिका अन्तर्गतको न्यायिक समितिले स्वामित्व हस्तान्तरण गराएर उनीहरुलाई फरार हुन सघाएको आरोप समेत उठिरहेको छ । पिडितहरुका अनुसार सिन्धी दाजु–भाईको स्वामित्वमा रहेको राजविराज नगरपालिका अन्तर्गतका तीन प्लट बिटोरी जग्गाको स्वामित्व हस्तान्तरण गराउने कार्य गरेर राजविराज नगरपालिकाले उनीहरुलाई भगाउन सघाएको हो । ती जग्गाहरुको हस्तान्तरण प्रक्रियावारे सम्बन्धीत निकायले छानविन थाले भगौडा सिन्धी दाजु–भाई आफै फेला पर्ने तर्क समेत स्थानिय पिडितहरुको छ । झण्डै सय करौड बढी लिएर फरार भएको आरोप खेप्दै आएका सिन्धी दाजु–भाई ०७७ फाल्गुन १७ गते देखि वेपत्ता भएका हुन् । यद्यपी राजविराज नगरपालिका अन्तर्गतको न्यायिक समितिले ०७७ फाल्गुन १५ गते उनीहरुको नाममा रहेको तीन प्लट बिटोरी जग्गा विभिन्न व्यक्तिहरुको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णाय गरेका छन् ।
राजविराज नगरपालिका न्यायिक समितिको तथ्यांक अनुसार ०७७ फाल्गुन १० मा सिन्धी दाजु–भाईले हाल राजविराज नगरपालिका–७ बस्ने शत्रुधनकुमार ठाकुर विरुद्ध मुद्दा मेलमिलाप गराई पाउँ भनि निवेदन दर्ता गराएको देखिन्छ । हाल राजविराज–७ स्थित ब्लक नम्बर ३७को कित्ता नम्बर १३मा रहेको १ कट्ठा १८ धुर जग्गा आफुहरुले विपक्षी शत्रुधन ठाकुरसँग १० करोड ५१ लाखमा विक्रि गर्ने सहमति बमोमिज ३ करौड १ लाख रुपैयाँ बैना बापत प्राप्त गरेको भन्दै निवेदनमा बाँकि रहेको ७ करोड ५० लाख रुपैयाँ दिलाई जग्गा हस्तान्तरण गरिदिनु हुन सिन्धी दाजु–भाईले राजविराज नगरपालिका न्यायकि समिति समक्ष उजुरी गरेको देखिन्छ ।
यसैगरी सोहि न्यायकि समितिमा सिन्धी दाजु–भाईले ०७७ फाल्गुन १२ गते हाल विष्णुपुर गाउँपालिका–१ वस्ने राजाराम प्रसाद यादव हाल राजविराज–७ वस्ने विजयलता जैन विरुद्ध पनि वैनामा सहमति कागज बमोजिम बाँकि रकम दिलाई गज्जा हस्तान्तरणका निम्ती उजुरी गरेको राजविराज नगरपालिका न्यायकि समितिको तथ्यांकवाट देखिन्छ । विजयलता जैनसँग ६० लाखमा बेच्न सहमति भएको जग्गा वापत वैना स्वरुप ५० लाख बुझि सकेको तथा राजारामप्रसाद यादवसँग १ करोड ३० लाखमा विक्रि गर्ने सहमति भएको जग्गा वापत वैना स्वरुप १ करोड १७ लाख १७ लाख बुझि सकेको हुँदा दुवै विपक्षीवाट सहमति बमोजिमको रकम दिलाई जग्गा हस्तान्तरणका निम्ती सिन्धी दाजु–भाईले नै उजुरी दर्ता गराएका रहेछन् ।
राजविराज नगरपालिकाको न्यायिक समितिमा मुद्दाहरुको चांग नै छन् । यद्यपी फाल्गुन १० र १२ गते गरी सिन्धी दाजु–भाईले दर्ता गराएको उजुरी माथि तीन दिन नवित्दै न्याययीक समितिले ०७७ फाल्गुन १५ गते तीन वटै मुद्दालाई फरफारक गर्दै सिन्धी दाजु–भाईले दावी तथा माग गरे बमोजिमको फैसला सुनाए । आखिर फैसला सुनाउन न्यायकि समितिलाई यतिको हतार किन थियो र ? के सिन्धी दाजु–भाई फरार प्रकरणवारे राजविराज नगरपालिकाको न्यायकि समितिलाई पहिला नै थाहा थियो त ? वा सिन्धी दाजु–भाई, उनीहरुको जग्गा खरिद गर्ने शत्रुघन ठाकुर, राजारामप्रसाद यादव, विजयलता जैन तथा राजविराज नगरपालिका न्यायिक समिति सवै आपसमा मिलोमतो गरी सिन्धी दाजु–भाईलाई भगाउन सघाउँदै सयौ सर्वसाधारणलाई पिडित वनाउन षड्यन्त्र नै रचेको हो त ? भनि राखेको जिज्ञासामा बोल्दै न्यायिक समितिका संयोजक एवम् राजविराज नगरपालिकाकी उप–मेयर साधना झा भन्छिन्, ‘हैन यस प्रकरणमा न्यायिक समिति कहि कतै कुनै पक्षसँग कुनै प्रकरणको सम्पर्क वा प्रभावमा थिएन्, दुवै पक्ष आफैमा मिलेर आयो हामिले कानुन बमोजिम फैसला मात्रै गरिदिएको हुँ ।’ न्यायकि समितिलाई प्राप्त कानुन तथा अधिकार क्षेत्र भित्र रहेर आफुले मात्रै फैसला गरेको उप–मेयर झाको दावि छ ।
उप–मेयर झाले जातिसुकै दावी गरेपनि केहि अनउत्तरित प्रश्नहरुको उत्तर नभेटिए सम्म राजविराज नगरपालिका र न्यायिक समिति माथि सर्वसाधारणले शंका गर्ने पर्याप्त ठाउँहरु छन् । सिन्धी दाजु–भाईलाई सर्वसाधारणको करौडो ठगेर फरारै हुनुथियो भने आफैले वैना बुझेका जग्गाको स्वामित्व हस्तान्तरणका निम्ती आफै न्यायकि समितिमा उजुरी गर्न किन गएका होलान ? जवकी उनीहरुले १० करोड ५१ लाखमा बेच्ने सहमति गरेको जग्गावापत ३ करोड १ लाख वैना वापत बुझि सकेका थिए । त्यसैगरी ६० लाखमा बेच्ने सहमति गरेको जग्गा वापत वैना स्वरुप ५० लाख तथा १ करोड ३० लाखमा विक्रि गरेको जग्गा वापत वैना स्वरुप १ करोड १७ लाख बुझि सकेका थिए । यहाँ अझै स्पष्ट हुने तथ्य के हो भन्ने वैना वापत रकम लिदैमा जग्गा धनिले वेच्न खोजेको जग्गा रोक्का हुँदैन, जग्गाधनिले चाहेमा अरुको हातवाट पनि जग्गा वेच्न सक्छन् । सिन्धी दाजु–भाईलाई जव फरारै हुनुथियो भने उनीहरुले वैना बुझि सकेको जग्गा अरुको हातवाट बेचेर पनि फरार हुन सक्थ्यो ।
फरार हुनुभन्दा ५\७ दिन अगाडी राजविराज नगरापालिका न्यायिक समितिमा उजुरी दिनु तथा उनीहरु फरार हुनुभन्दा २ दिन अगाडी मात्रै न्यायिक समितिले उनीहरुको माग बमोजिम फैसला टुङ्याई दिनु यो संयोग मात्रै हो त ? वा सर्वसाधारणले आरोप लगाउँदै आएको बमोजिम राजविराज नगरपालिका, न्यायिक समिति तथा जग्गा किन्ने तीनै जनालाई अनुसन्धानको दायरामा ल्याउनु पर्दैन त ? यसप्रश्नहरुको उत्तर खोज्ने तर्फ स्थानिय प्रशासन तथा अन्य सरोकारवालाहरुको ध्यान पुग्नुपर्ने अपरिहार्यतालाई नकार्न सकिदैन ।