• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

लामो समयको अन्तरालपछि अहिले बलियो बहुमतको सरकार त बनेको छ । जनताले दुईतिहाई नजिकको बहुमत दिएर सरकारमा त पठाए । विगतको जस्तो अल्पमतको सरकार नरहेका कारण यो पहिलेदेखि थाँति रहेका विकासीय काम अघि बढाउला, शान्ति सुव्यवस्था ल्याउला भन्ने जनताको ठूलो आशा थियो । तर, आफ्नै पार्टीभित्रको विवाद अन्ततः विग्रहकै रुपमा बदलिएका कारण न सरकारले सोचे जस्तो काम गर्न सक्यो न त जनताले गरेको आशाले नै मूर्त रुप लियो ।

पार्टीको साख जोगाउनकालागि भएपनि जनताका सबालमा काम गर्नु सरकारको जिम्मेवारी हुन जान्छ । आफूभित्रको मतमतान्तरलाई आफैंबाट समाधान निकाल्नकालागि अग्रसरता लिनुको साटो आफूमै भिड्दा समाधान त परै जाओस् बरु यो जगहँसाईको विषय बन्न सक्छ भन्ने बारेमा नेताहरुले ध्यान दिन सकेका कारणले नै अहिलेको बिग्रह आएको हो भन्दा शायद अन्यथा नहोला । पार्टीको समस्यालाई बार्ता तथा छलफलका माध्यमबाट निचोड निकालेर अघि बढ्न सकेको भए यति बलियो बहुमतका साथ बनेको सरकार यसरी धरापमा पर्ने अवस्था आउने थिएन होला ।

धराप यस कारण कि पार्टी भित्रै देखा परेका गुटउपगुट अझै झांगिनु तथा सरकारको आलोचनामा पार्टीकै एक पक्ष लागि पर्नुका कारणले बिग्रहको अवस्था उत्पन्न भएको हो । सत्तारुढ पार्टी भित्रको यो विवादले जनताका आकांक्षा पूरा गर्ने काम प्रभावित भएर जान्छ यदि भने त्यसको जिम्मेवारी त सम्बन्धित पार्टीले नै लिन सक्नु पर्दछ । जनताले बलियो बहुमत दिएर आफ्नो जिम्मेवारी पूरा गरे । अब त जनताकालागि काम गरेर देखाउन दायित्व सत्तामा रहेका नेता तथा पार्टी नेतृत्वकै हो ।

यस प्रकारका विवादमा समय खेर फालि राख्नुभन्दा पनि पहिला देश र जनतालाई शिरमा राखेर काम गर्न सक्नु पर्दछ । आफ्नो कमजोरीको दोष अरुको थाप्लोमा थोपर्न कदापि मिल्दैन ।