• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सर्वोच्चको फैसलापछि जसपा–नेकपाले ग¥यो दिपावली

प्रतिनिधि सभा विघटनको निर्णाय सर्वोच्चद्वारा बदर
सर्वोच्चको फैसलापछि जसपा–नेकपाले ग¥यो दिपावली

न्यूज टुडे
राजविराज, ११ फागुन ।
मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णायलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरिदिएको खुशिमा नेकपा (प्रचण्ड–माधव समुह) तथा जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेता कार्यकर्ताहरुले मंगलबार साँझ राजविराजस्थित गजेन्द्र चोक तथा दशन चोकलगायतका क्षेत्रमा मैनवत्ति एवम् दीप प्रज्वलन गरेर दिपावली मनाएका छन् ।

पूर्व मन्त्री एवम् नेकपा(प्रचण्ड–माधव समुह)का जिल्ला अध्यक्ष उमेशकुमार यादव, जिल्ला समन्व्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवलगायतकाहरुको उपस्थितमा जसपा–नेकपाका सैयौं नेता कार्यकर्ताहरु दीप प्रज्वलनसहित सर्वोच्चको फैसलप्रति खुशि व्यक्त गरेका छन् । सर्वोच्चको फैसलाले मुलुकमा संवैधानिक मूल्य मान्यतासहित कानुन एवम् आम नेपाली जनताको जीत भएको उनीहरुले प्रतिक्रिया जनाएका छन् ।

२ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ ।

‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका थिए । यो मुद्दाका दुवै पक्षले बहस गर्नुका साथै र एमिकस क्युरीले समेत आफ्नो राय राखेका थिए ।

हाई–अलर्टमा सुरक्षा निकाय
सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनस्र्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं उपत्यकालगायत देशैभरी नेपाल प्रहरी हाईअलर्टमा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले जानकारी दिए ।

‘विशेषगरी काठमाडौं उपत्यकाका सर्वोच्च अदालत वरिपरी, माइतीघर मण्डला, न्यायाधीशका निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ’, उनले भने, ’अब समस्याहरू उत्पन्न हुन सक्ने भन्दै प्रहरी परिचालन भएको छ । अहिलेसम्म त्यस्तो केहि भइसकेको छैन । माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । सम्भावित क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।’

उनले सबै सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । सर्वोच्च अदालत देखि न्यायाधीसहरूको निवास सम्म, भेला जम्मा हुने झडप हुन सक्ने ठाउँहरूलाई मध्यनजरमा राखेर परिचालन भएको छ ।