• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले भारतको सेरम इन्स्टिच्युटसंग किनेको कोभिड बिरुद्धको १० लाख डोज खोप आईतबार नेपाल आईपुगेको छ । पहिलो चरणमा फ्रण्टलाईनमा खट्नेहरुलाई लक्षित गरी सरकारले खोप लगाउने व्यवस्था मिलाएको थियो । अब शिक्षक तथा सार्वजनिक यातायातका चालक तथा सहचालकले पनि कोरोना बिरुध्दको खोप लगाउन पाउने भएका छन् ।

१० लाख डोज खोप भारतले अनुदानमा दिएपछि नेपालमा माघ १४ देखि कोरोना खोप बिरुद्धको अभियान सुरु भएको थियो । खोपको सुरुवात भएको करीब एक महिना पुग्न लाग्दा पनि ज्येष्ठ नागरिकले भने अहिलेसम्म खोप लगाउन पाएका छैनन् । कोरोनाको जोखिम बढी रहने गरेका कारणले पनि उनीहरुलाई प्राथमिकतामै राखेर खोप लगाउने व्यवस्था मिलाईएको भए जोखिम कम हुने थियो । यद्यपि सरकारले फागुन २३ गतेदेखि ज्येष्ठनागरिकहरुलाई पनि खोप लगाईने घोषणा गरिसकेको छ ।

कोरोनाको जोखिम सबैलाई हुने भएका कारण त्यसको सुरक्षाकालागि सबैले खोप लगाउन पाउनु आवश्यक छ । तथापि सरकारले अहिलेसम्म आयात गरेको खोपबाट सबैलाई एकै पटक पुग्ने अवस्था नरहेका कारणले पनि धेरैले अहिले पनि खोपकालागि प्रतिक्षामै बस्नु पर्ने अवस्था छ । जनताको जीवन रक्षाको विषयसित जोडिएको खोपमा सबै नेपाली जनताको पहुँच गराईने सरकारले बताईरहेको पनि छ । तथापि संक्रमणको जोखिम धेरै संख्यामा हुन सक्ने स्थान जस्तै विद्यालय, कलेज जस्ता स्थानमा पनि खोपको व्यवस्था चाँडै मिलाउन सकियो भने जोखिम पनि घटेर जाने सम्भावनातिर पनि ध्यान दिन जरुरी छ ।

खोपको उत्पादन स्वदेशमा नभएका कारणले विभिन्न मित्रराष्ट्रहरुसित सम्पर्क बढाएर नै सरकाले यसको व्यवस्था मिलाउने हो । यस मामिलामा सरकारले गरेको प्रयास सकारात्मक नै मान्नु पर्दछ । खोपको अन्तिम परीक्षणपछि त्यसको अनुमति पाए लगत्तै जसरी खोप उत्पादक मुलुकहरुले आफ्ना नागरिकलाई खोप लगाउन सुरुवात गरे, नेपालमा पनि त्यसको केही साता पछि नै खोप ल्याएर लगाउन सुरु गरिएको हो । तर, सिमित मात्रामा मात्र आएको खोप पहिला फ्रण्टलाईनमा बसेर काम गर्नेहरुबाट नै लगाउन सुरु गरिएपछि अधिकांशले खोप लगाउन बाँकी नै छ ।

सरकारले गरिरहेको प्रयास प्रशंसनीय त छ नै । यसका साथसाथै बाँकीलाई पनि सकेसम्म चाँडै खोप लगाउने व्यवस्था मिलाउन सकियो भने यो अझै उत्तम हुनेछ ।