Top_Header_Right_Add

राजेश अहिराज नियुक्त, परियार पदमुक्त

प्रदेश–२ का प्रमुख परिवर्तित
राजेश अहिराज नियुक्त, परियार पदमुक्त

न्यूज टुडे
राजविराज, ०७ फागुन ।
प्रदेश–२ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छिन् । परियार पदमुक्त भएपछि रिक्त भएको प्रदेश प्रमुख पदमा मधेश मामिलाका जानकार एवम् पत्रकार राजेश झा(अहिराज)लाई नियुक्त गरिएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को (ख) अनुसार परियारलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संविधानको उक्त धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने उल्लेख छ । परियारलाई किन हठात् हटाइयो भन्ने स्पष्ट कारण खुलाइएको छैन । केही दिनअघि प्रधानमन्त्री ओलीनिकट रहेका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच फोनमा विवाद तथा धाकधम्कीसहित गालीगलौज भएको फोनवार्ता सार्वजनिक भएको थियो । सोही प्रसंगलाई लिएर प्रधानमन्त्री ओलीले आफूलाई पदमुक्त गरिएको हुन सक्ने आशंका गरिएको छ ।

शेरबहादुर देउवाको सरकार हटेर केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि २०७६ कात्तिकमा नयाँ प्रदेश प्रमुख नियुक्त गरिएका थिए । त्यतिबेला पूर्वएमाले र पूर्व माओवादी निकटहरूलाई भागबण्डा गरिएको थियो । त्यसमा प्रचण्ड–माधव समूहबाट प्रदेश २ मा परियार, गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त नियुक्त भएका थिए ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री लालाबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेश भवनमा आयोजना गरेको कार्यक्रममा परियारले सम्बोधनसमेत गरेका थिए ।

यसअघि सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई एक साथ पदमुक्त गरेर परियारलाई प्रदेश २ को प्रदेश प्रमुख बनाएको थियो । २०७६ कात्तिक १८ गते प्रधानमन्त्री ओलीले त्यसअघिका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गर्दै परियारलाई नियुक्त गरेका थिए । कत्तिक १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई सपथ ग्रहण गराएकी थिइन् भने २० गते जनकपुर पुगेर उनले पदभार ग्रहण गरेका थिए ।

माओवादीको आन्दोलनमा लागेका परियारले जनयुद्धको समयमा दलित मुक्ति आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट रहेका परियारको घर भने बाँके कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पर्छ । उनी अहिले पनि नेकपाको दलित मुक्ति संगठनका नेताका रूपमा चिनिन्छन् ।

परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए । उनी केही समय नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।

नवनियुक्त प्रदेश प्रमुख झा मधेस मामिला विज्ञ मानिन्छन् । ‘राजेश अहिराज’ को नामले परिचित झा पत्रकारितामा पेशामा पनि आवद्ध रहँदै आएका छन् । उनले मधेस मामिलामा विद्यावारिधि गरेका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer