• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोसी स्नान गर्न हजारौंको भीड

न्यूज टुडे
राजविराज, १५ माघ ।
पुसी पुर्णिमाको अवसरमा गरिने कोसी स्नानका लागि बिहीबार सप्तरीको भारदहस्थित सप्तकोसी ब्यारेजलगायत कोसी नदीको पानी पुग्ने जलाशयहरुमा ठुलो संख्यामा श्रद्धालुहरुको भीड जुटेको छ । यस अवसरमा कोसी क्षेत्रमा लाग्ने मेलाहरुमा पनि दिनभरी हजारौको भीड रहेको थियो । सप्तकोसीको नदी किनारमै खानपिन गरी रमाइलो गरेर हरेक वर्ष मनाइने कोसी मेला यस वर्ष पनि बिहीबार भव्यताका साथ सम्पन्न भएको छ ।

खासगरी भारदहस्थित कोसी ब्यारेज, सप्तकोसी नगरपालिकाको ओद्राहास्थित मेगरिन चुरिया, वैरवाको मलकौर, कञ्चनरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुरलगायतका स्थानमा सर्वसाधारणको भीड लागेको थियो । कोसी ब्यारेजमा बिहानैदेखि कोसी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो । ओद्राहा तथा कोसी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी तथा सीमावर्ती भारतीय गाउँघरका सर्वसाधारणहरु समेत जम्मा भएको स्थानीय संचारकर्मी राजु शर्माले जानकारी गराए । कोरोनाका कारण आधिकारीक रुपमा भारतीय नाकाहरु खुला नरहेकोले अन्य वर्षहरुको तुलनामा भारतीयहरुको उपस्थिति भने निकै नै न्यून रहेको शर्माको भनाई छ ।

सवारीसाधन सहज रुपमा पुग्न सक्ने ब्यारेजबाहेक चारपांग्रे गाडीको असहजता भएका स्थानमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोसी स्नानका लागि आउनेहरुको दिनभरि घुइँचो लागेको थियो । बिहानैदेखि बैलगाडा, बस, म्याजिक, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला हेर्न तथा कोशी स्नानकालागि सर्वसाधारण आउने गर्छन् ।

यस मेलालाई कृषि मेलाको रुपमा समेत लिने गरिन्छ । एक दिने यस मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीकालागि महत्वपूर्ण मानिन्छ । कृषकहरुकालागि कोसी मेलामा निकै महत्वपूर्ण मानिन्छ ।

पौष शुक्ल पुर्णिमाका दिन कोसी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास छ । यस दिन बिहानै कोसीलगायतका जलासयहरुमा नुहाएर मिठो चोखो खाने चलन रहँदै आएको छ । अवकास प्राप्त प्राचार्य अखिलेश्वर झा भन्छन्, ‘कोसी स्नान गरी दही च्यूरा र जलेबी खाने दिन हो, महिनाको हिसाबले माघ भएपनि तिथिको हिसाबले पुष महिनाको पूर्णिमा हो ।’

पौराणिक कथाअनुसार कोसी गाधीराजको पुत्री, ऋषि विश्वामित्रको बहिनी र रिचिक मुनीकी पत्नी हुन् । पुषि पूर्णिमाका दिन कोसीमा स्नान गर्ने व्यक्तिको एक करोड पाप नास हुने बरदान ब्रह्माले कोसीलाई दिएको पौराणिक कथाहरुमा उल्लेख रहेको पाईन्छ । ब्रह्माले दिएको बरदानअनुसार पुषि पुर्णिमाका दिन कोसी नदीमा नुहाउने व्यक्तिको एक सय चन्द्र तथा सुर्य ग्रहणको दशा नास हुने तथा निःसन्तानहरुले सन्तान पाउनुका साथै धनधान्य र रोग मुक्त हुने विश्वास जनमाननसमा छ ।