Top_Header_Right_Add

खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस् ः मन्त्री साह

कोरोनाविरुद्धको खोप सप्तरीमा शुभारम्भ
खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस् ः मन्त्री साह

न्यूज टुडे
राजविराज, १४ माघ ।
बुधबारबाट सप्तरीमा पनि कोरोना खोप अभियान प्रारम्भ भएको छ । सदरमुकामस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रम माझ प्रदेश–२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले यस अभियानको शुभारम्भ गरेका छन् । सप्तरीमा कोरोना विरुद्धको पहिलो खोप गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत स्टाफ नर्स सुनिता यादवलाई लगाईएको छ । विहान ११ बजेर १० मिनेट तिर पहिलो खोप स्टाफ नर्स यादवलाई लगाईएको थियो ।

खोप कार्यक्रमको शुभारम्भ गर्दै समाजिक विकास मन्त्री साहले खोपको प्रतिकूल प्रभावलगायतका बारेमा हाल समाजिक संजालदेखि आम जनमानससम्ममा बिभिन्न नकारात्मक चर्चाहरु रहेको बताउँदै उक्त हल्लाहरु पछाडि नलाग्न सबैमा आग्रह गरे । ‘खोप अभियान प्रारम्भ गर्नुअघि नै विषेशज्ञहरुले यसबारे थुप्रै अध्ययन अनुसन्धान गरेर यसलाई आमजन समक्ष प्रयोगमा ल्याईएको हो’, उनले भने, ‘यो खोप जीवन रक्षाका निम्ति सुरक्षित छ, भरपर्दो छ, ढुक्क भएर यसको प्रयोग गर्नुस् यसले कुनै नाकारात्मक प्रभाव पार्दैन ।’

वैज्ञानिकहरुको कठोर परिश्रमले विश्व समुदाय कोरोना विरुद्धको खोप पाएको वताउँदै मन्त्री साहले भारतमा पनि हालसम्म झण्डै १५ लाख बढीलाई खोप लगाई सकिएको र यसको त्यस्तो खासै प्रतिकूल प्रभाव समेत नदेखिएकोले यसबाट नडारउन सबैमा आग्रह गरे । आम सर्वसाधारणलाई खोप बारे विश्वस्त पार्न स्वास्थ्यकर्मीवाटै खोपको प्रारम्भ गरिएको मन्त्री साहले बताए । दोश्रो चरणअन्तर्गत आम सर्वसाधारणलाई समेत निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य नेपाल सरकारको रहेको बताउँदै उनले यसका निम्ति सरकारले आफ्नो स्तरबाट पहल गरिरहेको जानकारी गराए । उनले खोप आएको प्रारम्भिक चरणमै नेपाललाई समेत प्राप्त हुनु शौभाग्यको विषय रहेको भन्दै खोप उपलब्ध गराई दिएकोमा भारत सरकारप्रति आभार समेत व्यक्त गरे ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल तथा रुपनीस्थित प्रहरी अस्पताल गरि दुई वटा केन्द्रमार्फत सप्तरीमा खोप कार्यक्रम प्रारम्भ गरिएको होर खोप लगाउन प्रारम्भ गरिएको पहिलो दिन यो समाचार तयार पारिरहँदा सम्म १ सय ४१ जनालाई खोप लगाईएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारीअनुसार प्रहरी अस्पताल रुपनीमा पहिलो दिन ६६ जनालाई तथा गजेन्द्रनारायण सिंह अस्पतालमा ७५ जनालाई खोप लगाईएको छ ।

जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । पहिलो चरणमा कोरोना विरुद्ध अग्रमोर्चामा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई खोप दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीकाअनुसार पहिलो चरण अन्तर्गत प्रदेश सरकारले पठाएको ८ हजार ३ सय ३० डोज खोप ‘कोभिशिल्ड’ सप्तरी आईपुगेको हो ।

सप्तरीमा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer